बागमतीमा लामाले गुमाए संसदीय दल नेताको हैसियत, मुख्यमन्त्री पद नछोड्ने अडान कायमै
हेटौंडा । बागमती प्रदेशअन्तर्गत नेपाली कांग्रेस संसदीय दलमा नेताका रूपमा रहेका बहादुरसिंह लामाले विश्वास गुमाएका छन्। मंगलबार दलको बैठकमा भएको मत विभाजनमा उनको पक्षमा जम्मा १५ मत मात्रै पर्न पुग्यो भने विपक्षमा २२ सांसद उभिएका छन्।
नेपाली कांग्रेसका सांसदहरुका अनुसार दलभित्र बहुमत सांसद लामाविरुद्ध उभिँदा उनी नेतृत्वबाट स्वतः हटेका हुन्। संसदीय दलमा लामाविरुद्धको अविश्वास प्रस्ताव सफल भएपछि उनको सट्टामा प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई नेतृत्वमा ल्याउने प्रयास तीव्र बनेको छ।
संसदीय दलको नेताबाट विश्वास गुमाए पनि मुख्यमन्त्री पद भने नछाड्ने अडान बहादुरसिंह लामाले दोहोर्याएका छन्। मत विभाजनमा पराजित भए पनि प्रदेश सरकारको नेतृत्व आफूसँगै रहने जिकिर गर्दै उनले भने, “सरकार एउटा पाटो हो, संसदीय दल अर्को पाटो हो। मुख्यमन्त्री हुन दलको नेता हुनैपर्छ भन्ने छैन।”
लामाले मंगलबारको घटनाक्रमबारे प्रतिक्रिया दिँदै आफूविरुद्ध पार्टीभित्रै षड्यन्त्र रचिएको गुनासो पनि गरे। उनले भने, “सबैलाई मिलाएर अघि बढौं भनेको थिएँ, तर विभिन्न किसिमका जालहरू रचिएको रहेछ। मेरै मन्त्रीहरू पनि त्यसको हिस्सा रहेछन्।”
उनले पार्टीभित्रका नेताहरू लोकतान्त्रिक विधिबाट अघि बढ्नुपर्नेमा जोड दिँदै भोलिको प्रक्रियामा आफैँले सहभागिता जनाउने जनाएका छन्।
“लोकतान्त्रिक प्रक्रियामा जाने हो भने जाने हो। मत विभाजन प्रक्रियामा गइयो, त्यसमा मेरो पक्षमा १५ मत आयो, विपक्षमा २२ मत। म संसदीय दलको नेता अब रहिनँ, तर सरकारबाट हट्नुपर्ने आधार छैन,” लामाले स्पष्ट पारे।
कांग्रेस भित्रको यो आन्तरिक विभाजनसँगै बागमती प्रदेश सरकार नेतृत्वमा फेरबदलको सम्भावना बलियो बनेको छ। लामाले यद्यपि तत्काल राजीनामा नदिने अडान राखेपनि पार्टीभित्रैबाट बानियाँको पक्षमा २२ सांसद उभिएकाले उनमा नयाँ सरकार गठनको बाटो खुलेको छ। अबको सत्ता समीकरण के मोड लिन्छ भन्ने चासो र काङ्ग्रेस भित्रको यो शक्ति संघर्षले बागमती प्रदेशको राजनीतिक स्थितिमा महत्वपूर्ण मोड ल्याउने देखिएको छ।







