मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा मन्त्री थापाद्वारा निरीक्षण
हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा र बागमती प्रदेश सभा सदस्य एका लाल श्रेष्ठले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको सेवा तथा भवनमो निरीक्षण गरेका छन्। चिकित्सा शिक्षा आयोगको अनुगमनको पूर्वसन्ध्यामा निरीक्षण भ्रमणले प्रतिष्ठानको आगामी योजनाका विषयमा थप छलफल भएको थियो।
निरीक्षणका क्रममा मन्त्री थापाले प्रतिष्ठानले सञ्चालनमा ल्याएको बीएस्सी नर्सिङ , बिपिएच, बिएमएलटी, बी फर्मा कार्यक्रमहरूको प्रशंसा गर्दै एमबीबीएसको पूर्वतयारीमा लाग्न आग्रह गर्नुभयो । हाल सञ्चालनमा रहेको बीएस्सी नर्सिङ कार्यक्रमको सिट संख्या २० बाट बढाएर ४० पुर्याउन तयारीमा प्रतिष्ठानले तयारी गरेको छ ।
प्रतिष्ठानका उपकुलपति डा। प्रदिप ज्ञवाली, शिक्षाध्यक्ष डा। दिनेश कुमार लम्साल, रजिस्ट्रार भीमसागर गुरागाईं, निर्देशक डा। रामचन्द्र सापकोटा, अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईं , लक्ष्मी पौडेल, पूर्व सदस्य हिरा लामा लगायत चिकित्सक एवम अन्य कर्मचारीहरुको सहभागिता थियो ।
स्वास्थ्य मन्त्री थापाले चिकित्सा शिक्षा आयोगको मापदण्डअनुसार सबै पूर्वाधार र शैक्षिक तयारीलाई पूर्णता दिने भन्दै प्रदेश सरकार पूर्ण प्रतिवद्ध रहेको बताउनुभयो ।
प्रदेश सभा सदस्य एका लाल श्रेष्ठले हेटौंडा अस्पतालले समग्र स्वास्थ्य सेवा प्रवाहमा देखाएको कार्य सराहनीय भएकोले यसलाई कायम राख्नुपर्ने बताउनुभयो । जनताको गुनासो आइरहने भन्दै यसबाट आत्तिन नहुने बताउनुभयो ।
प्रतिष्ठानको तर्फबाट उपकुलपति डा। ज्ञवालीले प्रतिष्ठानलाई एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने आधार निर्माण भइसकेको बताउँदै, अब चिकित्सा शिक्षा आयोगको स्वीकृतिको पर्खाइ मात्र रहेको उल्लेख गर्नुभयो।








