बागमती प्रदेशमा बजेटप्रति असन्तुष्टि कायमै, लामालाई हटाएर बानियाँलाई मुख्यमन्त्री बनाउने तयारी
हेटौंडा । बागमती प्रदेश सरकारद्वारा असारमा पारित गरिएको बजेटप्रति असन्तुष्टि अझै पनि सेलाएको छैन। प्रदेश सरकारकै मन्त्री र नेपाली कांग्रेसका सांसदहरू बजेटमा गरिएको ‘मनोमानी’ प्रति आक्रोशित छन्। उनीहरू अहिलेको मुख्यमन्त्री बहादुर सिंह लामालाई हटाएर नेपाली कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने तयारीमा जुटेका छन्।
बजेट पारित हुनु अगावै असन्तुष्टि रहेको अवस्थामा पनि अन्ततः बजेट पारित भयो। तर, त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले र मुख्यमन्त्री लामाले मिलेर बजेटमा पार्टीभित्रको सहमति नलिई मनपरी ढंगले बाँडफाँट गरेको आरोप कांग्रेसकै मन्त्री तथा सांसदहरूले लगाएका छन्।
कांग्रेसभित्रकै स्रोतका अनुसार, दुई नेताबीच आलोपालो मुख्यमन्त्री बन्ने सहमति पहिले नै भइसकेको थियो। तर, लामाले सहज रूपमा राजीनामा नदिएपछि असन्तुष्ट पक्ष आक्रोशित बनेको छ। यही कारण चार जना मन्त्रीहरूले बिहीबार राजीनामा बुझाएका छन्।
राजीनामा दिने मन्त्रीहरूमा युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ रहेका छन्। ती सबै मन्त्रीहरूले केही दिनअघि मात्र नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए।
यसैबीच, नेपाली कांग्रेस संसदीय दलले मुख्यमन्त्री लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ। एकजना सांसदका अनुसार, प्रस्तावको मस्यौदा तयारी भइसकेको छ र चाँडै नै संसदीय दलको नेताबाट लामालाई हटाइनेछ। त्यसपछि बानियाँलाई संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री बनाउने योजना अघि बढाइनेछ।
मुख्यमन्त्री लामाले भने आफू स्वास्थ्यमा गम्भीर समस्या आउँदा वा मृत्यु भएमा मात्र पदबाट हट्ने सार्वजनिक अभिव्यक्ति दिएका छन्। तर, उनको यो भनाइपछि झनै आक्रोशित बनेका कांग्रेसका सांसद र मन्त्रीहरूले जसरी भए पनि उनीलाई हटाउने अडान लिएका छन्।
प्रदेशको नेतृत्व फेर्न कांग्रेसभित्र तीव्र राजनीतिक चलखेल सुरु भएको छ। लामा र बानियाँबीचको शक्ति संघर्षले कांग्रेसभित्रको विभाजन अझै स्पष्ट बन्दै गएको छ। अहिलेको परिस्थिति हेर्दा मुख्यमन्त्री परिवर्तन हुने संकेत बलियो देखिन्छ।
बागमती प्रदेश सभामा रहेका कांग्रेसका ३७ सांसदमध्ये २४ जनाले बागमती संसदीय दलको नेता चयनको लागि चुनाव गर्न हस्ताक्षर बुझाएका छन्। यसैका लागि सरकारमा रहेका ४ मन्त्रीरूले समेत मन्त्री पदबाट राजीनामा दिएका छन्।
अन्य २० सांसद र ४ मन्त्री गरी २४ सांसदहरूले दलको नेताको चुनाव गरेर नयाँ मुख्यमन्त्री चयन गर्न दबाब स्वरुप हस्ताक्षर बुझाएका हुन्। मुख्यमन्त्री लामाले प्रदेश सरकारको नेतृत्व गरेको आज एक वर्ष पूरा भएकै दिन कांग्रेस सांसदहरूले मुख्यमन्त्री फेर्ने प्रक्रियाअघि बढाएका हुन्। ९ साउन २०८१ मा लामाले मुख्यमन्त्री पदको सपथ खाएका थिए।







