“एक वर्षमा अपराध नियन्त्रणमा मकवानपुर प्रहरीले के–के गर्यो काम ?”
हेटौँडा । हेटौंडाको भीडभाड टोल, बिहान–साँझ दौडिने टिपर र ट्रयाक्टर, अनि चुपचाप–चोक चियाइरहेका ट्राफिक प्रहरी‘ मकवानपुर जिल्लाको सामान्य दिनचर्या यस्तै देखिन्छ। तर यस ‘सामान्य’ भित्र लुकेका छन् असामान्य कथाहरू — लागुऔषध तस्करी, सुन र चाँदीको अबैध ओसारपसार, फरार अभियुक्तहरूको खोजी, अवैध उत्खनन, र ट्राफिक दुर्घटनाबाट हुने मृत्युका कहालीलाग्दा त्रासदीहरू।
पछिल्लो एक वर्षमा जिल्लाभरि यस्ता गतिविधिको सामना गर्नु पर्यो, जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई। त्यसो त प्रहरीको कामै हो, अपराधको अन्त्य र समाजको सुरक्षामा समर्पण। तर बितेको आर्थिक वर्ष २०८१–८२ मा मकवानपुर प्रहरीले अपराध नियन्त्रणका लागि केही प्रयासहरु गरेको छ ।
सामान्य लाग्ने तथ्यांक, असामान्य कथा
बितेको आर्थिक वर्षको साउन १ गते देखि असार ३२ गतेको एक वर्षको अवधिमा मकवानपुर प्रहरीले कुल १ हजार ७५ वटा मुद्दा दर्ता गर्यो। अनुसन्धानको क्रममा ९२८ जना व्यक्तिलाई पक्राउ गरियो। यी सामान्य तथ्यांकजस्ता लाग्न सक्छन् तर हरेक मुद्दा पछाडि एउटा पीडित परिवार छ, एउटा अपराधको बिँडो छ र एउटै समाजभित्र अपराधसँग जुधिरहेको एक प्रहरी टोलीको कथा।
लागुऔषध मात्र होइन, लागुऔषधसँग सम्बन्धित मानसिक, सामाजिक र पारिवारिक त्रास पनि छ। यही त्रास हटाउने उद्देश्यले प्रहरीले १८८ वटा लागुऔषध सम्बन्धी मुद्दा दर्ता गर्दै २८९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिए । तीमध्ये १३ जना विदेशी नागरिक थिए। केही नेपाली किशोर, कोही शिक्षित, कोही बेरोजगार – अपराधको उस्तै चक्रभित्र घुमिरहेका पात्रहरू।
गाँजाको खेत फडानी गर्दा‘
लागुऔषध नियन्त्रणतर्फ मकवानपुर प्रहरीले जुन कार्य गरे, त्यो उल्लेखनीय मान्न सकिन्छ। एक वर्षको अवधिमा ६ हजार ४ किलो गाँजा, ५१ किलो ७१० ग्राम चरेश, २६ किलो ८८० ग्राम अफिम, कोरेक्स ६२८ बोतल, नाइट्राभेट र ट्रामाडोल ९५ हजार २७१ थान, डाइजेपाम २ हजार ७५७ एम्पुल र खैरो हेरोइन ४७६ ग्राम ४३३ मिलिग्राम बरामद गरियो।
तर मात्र बरामदमै सीमित रहेन यो प्रयास। प्रहरीले गाँजा खेती गरिएका १२० बिगाहा ४ कठ्ठा जमिन र अफिम खेती गरिएका ३९ बिगाहा १४ कठ्ठा क्षेत्रफलमा फडानी अभियान चलायो। ‘हातमा हँसिया बोकेर, प्रहरीका लहरै टिम – यो गाँजा उखेल्ने अभियान, हामीले गरेको सानो युद्धजस्तै थियो,’ एक प्रहरी निरीक्षक सम्झन्छन्।
अबैध भन्सार छली, सुन, चाँदी र डलरको खेल
मकवानपुर प्रहरीको अर्को ठूलो चुनौती थियो – अबैध भन्सार छली। बागमती प्रदेशको मुख्य व्यापारिक नाकामध्ये एक मानिने मकवानपुरबाट एक वर्षमा प्रहरीले ८ किलो ७३५ ग्राम सुन, २ किलो १९६ ग्राम चाँदी, ४६ हजार अमेरिकी र युरो डलर बरामद गर्यो। यी सबैको बजार मूल्य झन्डै १६ करोड रुपैयाँभन्दा बढी थियो।
‘सुन ल्याउने प्रविधि अझै जटिल हुँदै गएको छ। पेटभित्र लुकाउनेदेखि गाडीको इन्जिनमा छोप्ने सम्मका तरिका फेला परेका छन्,’ प्रहरी स्रोत बताउँछ।
त्यससँगै, लत्ता कपडा, खाद्यान्न र अन्य दैनिक उपभोग्य वस्तुहरू अबैध तरिकाले भित्र्याउनेहरूमाथि पनि प्रहरीले निगरानी बढायो। कुल २ करोड ५९ लाख १९ हजार ९९३ बराबरको वस्तु नियन्त्रणमा लिइयो।
फरार अभियुक्त समातिँदै, फैसला कार्यान्वयनमा तीव्रता
अदालतले सजाय सुनाएका तर फरार भएका १८३ जनालाई पक्राउ गर्नु त्यति सजिलो थिएन। कतिपय गाउँबाट राजधानीसम्म लुकेका थिए, कोही त विदेशतर्फ पलायनको तयारीमै थिए। तर प्रहरीको निगरानी, सूचना संयन्त्र र कार्यसम्पादनले गर्दा यी अभियुक्तहरू कानुनी कठघरासम्म ल्याइए।
त्यस्तै, १ करोड २१ लाख ७३ हजार ८०५ बराबरको जरिवाना असुल गरियो भने ९९ वर्ष ११ महिना २३ दिनको कैद सजाय कार्यान्वयन गरिएको डिएसपी अर्यालले जानकारी दिए ।
ट्राफिक व्यवस्थापनः मृत्युको डरलाग्दो रुप
सवारी दुर्घटनाबाट ५० जनाको ज्यान गयो, १६३ जना गम्भीर घाइते भए र ८०२ जना सामान्य घाइते भए। यी संख्या आत्मा हल्लाउने खालका छन्। त्यसैले, मकवानपुर प्रहरीले ट्राफिक सुरक्षालाई प्राथमिकतामा राख्यो।
२ हजार ६१६ वटा सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरियो, जसमा १ लाख ४५ हजार ३३९ जनाले सहभागिता जनाए। ‘सडकमा नियम पालना गर्ने भन्दा तोड्ने बानी छ, त्यसलाई सचेतनाले मात्र सुधार्न सकिन्छ,’ एक ट्राफिक प्रहरी बताउँछन्। मदिरा सेवन गरी सवारी चलाउने ८४४ जनालाई कारबाही गरिएको छ भने २१ जनाविरुद्ध मुद्दा दर्ता गरियो।







