बागमती प्रदेश प्रमुख देवकोटाद्वारा २१२ औँ भानु जयन्तीको अवसरमा शुभकामना व्यक्त

जनपत्र
२९ असार २०८२, आईतवार १३:२२

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले २१२ औँ भानु जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।
वि।सं। १८७१ साल असार २९ गते अर्थात् आजकै दिन तनहुँ जिल्लाको चुंदी रम्घामा जन्मनुभएका नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई साहित्यिक धरातलमा स्थापित गरि जनजिब्रोमा मिसाउनु भएको ऐतिहासिक योगदान सबैका लागि गर्वको विषय भएको प्रदेश प्रमुख देवकोटाले उल्लेख गर्नु भएको छ ।

वाल्मिकी रचित संस्कृतको रामायणलाई सरल र मिठासपूर्ण नेपाली भाषामा अनुवाद गरी गाउँघरसम्म पुर्‍याउनु भएको स्मरण गर्नुहुँदै नेपाली भाषाका साथसाथै साँस्कृतिक चेतना पनि उजागर भएको बताउनु भएको छ । ‘हाम्रा गाउँघरहरू रामायणका श्‍लोक वाचनले गुन्जायमान हुन्थे । प्रायः सबैजसोका लागि रामायण कर्णप्रिय ग्रन्थ थियो र आज पनि छ’ प्रदेश प्रमुख देवकोटाले सन्देशमार्फत भन्नु भएको छ ।

‘भानुभक्तले देखाएको साहित्यिक मार्गले हामीलाई आफ्नो पहिचानको संरक्षण र संवर्द्धन गर्ने प्रेरणा दिएको छ ’ उहाँले भन्नु भएको छ । काव्यमा रहेको सरलता र राष्ट्रिय आत्मसम्मान आज पनि उत्तिकै सान्दर्भिक छ । यस अवसरले आफ्नो गौरवपूर्ण भाषा, साहित्य र संस्कृति प्रतिको सम्मान र कर्तव्य स्मरण गराउँछ । त्यतिमात्र होइन भानुभक्त आचार्यको घाँसीसँगको जम्काभेट जीवनको खुसी र सत्मार्गको प्रेरक प्रसङ्गसँग जोडिएको छ । यसमा लोक कल्याणकारी मार्ग अपनाउने गहन सन्देश प्रवाह भएको छ ।

उहाँले सबैमा एकताको भावना थप प्रगाढ बनाई, नयाँ पुस्तामा साहित्यिक चेतना भरेर सिर्जनशीलताको नयाँ युगको प्रारम्भ गराओस् भन्ने कामना व्यक्त गर्नु भएको छ । ‘भानुभक्तले देखाएको मार्गमा हामी सबै अघि बढी नेपाली भाषा र साहित्यलाई माया र सम्मान गर्न सकौं, अन्तर्राष्ट्रिय जगतमा नेपाली साहित्यलाई अझ उजागर गर्न सकौं भन्ने आशा व्यक्त गर्दछु’ उहाँले सन्देशमा भन्नु भएको छ । साहित्यिक महानायक आदिकवि भानुभक्त आचार्यप्रति देवकोटाले भावपूर्ण श्रद्धाभाव समेत व्यक्त गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*