हेटौँडामा वडा अध्यक्षमाथि पुनः आक्रमण, नगरपालिकाद्वारा एकदिन सेवा बन्दको घोषणा

हेटौंडा । हेटौँडा उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिमाथि आक्रमणका घटना दोहोरिन थालेका छन् । असार ४ गते वडा नं १ का वडाध्यक्ष सविन न्यौपानेमाथि भएको आक्रमणको घटना सेलाउन नपाउँदै बिहीबार वडा नं ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि पनि कुटपिट भएको छ । यसपटक आक्रमण स्थानीय नागरिक नभई सडक निर्माण कार्यसँग जोडिएकी एक महिला निर्माण व्यवसायीबाट भएको भन्ने विषयले थप गम्भीरता बोकेको देखिन्छ ।
वडाध्यक्ष सिग्देलमाथि हेटौँडा–४ स्थित हेटौँडा क्याम्पस अगाडिको सडक विस्तारका विषयमा छलफल चलिरहेको बेला हातपात भएको हो । प्रहरीका अनुसार काभ्रे जिल्लाको रोशी गाउँपालिकाकी मञ्जु लामाले वडाध्यक्षमाथि आक्रमण गरेकी हुन् । वडाध्यक्षले सडक निर्माणका विषयमा धारणा राखिरहँदा लामाले भिडियो खिच्न थालेपछि रोक्न आग्रह गर्दा विवाद चर्किएको र त्यसक्रममा आक्रमण भएको प्रत्यक्षदर्शीको भनाइ छ ।
उक्त घटनाले जनप्रतिनिधिको भौतिक सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ । स्थानीय सरकारका प्रतिनिधि योजनाको अनुगमन वा समस्या समाधानका क्रममा आक्रमणमा पर्ने क्रम बढ्नु, सत्ताको अभ्यास गरिरहेका जनप्रतिनिधिको आत्मबल कमजोर बनाउने सम्भावना बढेको छ ।
सडक निर्माणको अलपत्र अवस्था र त्यसलाई लिएर स्थानीयको आक्रोश वडाध्यक्षमाथि लक्षित हुँदै आएको थियो । हेटौँडा क्याम्पसदेखि हुप्रचौरसम्मको सडक लामो समयदेखि निर्माण हुन नसक्दा जनगुनासो बढ्दै आएको थियो । वर्षायाममा पैदल हिँड्नसमेत कठिन हुने अवस्था थियो । स्थानीयले पटकपटक सामाजिक सञ्जालमा भिडियोमार्फत असन्तुष्टि पोखिरहेका थिए ।
यस घटनापछि वडाध्यक्ष सिग्देलले निर्माण क्षेत्रको अनुगमनको क्रममा आफूमाथि योजनाबद्ध आक्रमण भएको प्रतिक्रिया दिएका छन् । प्रहरीको तत्काल हस्तक्षेपपछि आक्रमणकारी भनिएकी मञ्जु लामालाई नियन्त्रणमा लिइएको छ ।
यसैबीच, घटना गम्भीर भएको भन्दै वडा कार्यालयले शुक्रबारका लागि तय सबै कार्यक्रम रद्द गरेको छ भने उपमहानगरपालिकाले एक दिन सेवा नदिने निर्णय गरेको छ । नगरप्रमुख मीनाकुमारी लामाले पत्रकार सम्मेलन गर्दै प्रतिनिधिमाथिको सुरक्षा चुनौतिले गम्भीर अवस्था लिएको र प्रशासनले कठोर सुरक्षा नीति नअपनाए परिस्थिति नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिएकी छन् ।
प्रशासनको भूमिकामाथि प्रश्न
गत साता वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपानेमाथि आक्रमण भएको घटनाका दोषी अझैसम्म पक्राउ पर्न नसक्नु र त्यसपछि पुनः अर्को वडाध्यक्षमाथि आक्रमण हुनुले कानून कार्यान्वयन निकायको प्रभावकारितामाथि प्रश्न खडा गरेको छ । प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले दोषी नियन्त्रणमा लिएको बताएका छन् तर स्थानीय तहले संरक्षणको अनुभूति गर्न नसक्नु राज्य संयन्त्रको कमजोरी हो भन्ने आवाज पनि उठ्न थालेको छ ।
हेटौँडामा दोहोरिँदै गरेका वडाध्यक्षमाथि आक्रमणका घटनाले अब स्थानीय तहमा सुरक्षा, समन्वय र पारदर्शितामाथि विशेष ध्यान दिनुपर्ने खाँचो देखिएको छ । जनप्रतिनिधिलाई सुरक्षित वातावरणमा सेवा दिनसक्ने अवस्था तयार गर्नु प्रदेश सरकार र संघीय सरकारको दायित्व हो । वडाध्यक्षमाथि पटकपटक आक्रमण हुनु सामान्य घटना होइन, यो लोकतान्त्रिक अभ्यासमाथिको सीधा हमला हो ।
उपमहानगरको एकदिने सेवा बन्दको निर्णय तत्कालीन प्रतिक्रिया हो, तर दीर्घकालीन समाधानका लागि सुरक्षा संयन्त्र, स्थानीय जनगुनासो र निर्माण प्रक्रिया सबैमा समन्वयात्मक सुधारको आवश्यकता देखिन्छ । यदि यस्ता घटनालाई राज्य र स्थानीय तहले समयमै सम्बोधन गर्न सकेनन् भने प्रतिनिधि प्रणालीप्रति नै अविश्वासको वातावरण सिर्जना हुने जोखिम रहन्छ ।