मकवानपुरका किसानलाई चैते धान र खेतको मकै भित्र्याउने चटारो

हेटौंडा । मकवानपुर जिल्लाका किसानहरू अहिले खेतबारीमा चहलपहलका साथ व्यस्त छन्। एकातिर चैते धान पाकेर काट्ने बेला भएको छ भने अर्कातिर मकैको भित्र्याउने चटारोले गाउँघरका बारी–खेत भिजेका छन्। असार लागेपछि मौसम पनि साथ दिन थालेको छ र किसानहरू बिहान सबेरैदेखि घाम अस्ताउने बेलासम्म खेतबारीमै पसिना बगाइरहेका छन्।
विशेषगरी हेटौंडा उपमहानगरपालिका, मनहरी, भिमफेदी, मकवानपुरगढी, राक्सिराङ र बकैया गाउँपालिकाका क्षेत्रमा खेतीयोग्य भेगमा चैते धान प्रमुख मौसमी बालीका रूपमा लगाइन्छ। धान पाकिसकेकाले अहिले काट्ने र झार्ने क्रम तीव्र रहेको मकवानपुरगढी–५ का किसान सिताराम घिमिरे बताउँछन् ।
हेटौंडा–११ का किसान मनबहादुर घलान भन्छन्, अहिले धान नकटाइ सुख छैन, पानी परेमा झन् झन्झट हुन्छ, कामदार पाउन पनि गाह्रो छ, त्यसैले आफैं परिवार मिलेर काट्न थालेका हौं।
चैते धानको उत्पादन मुख्यतः पानीको भरपर्दो सिँचाइ हुने ठाउँहरूमा बढी हुने भएकाले यसले कृषकको आशा बोक्ने गर्छ। यो सिजनको धानले किसानहरूलाई आंशिक राहत दिन्छ, विशेषगरी आहारोपयोगी अन्नको आपूर्ति र केही आम्दानी हुने आधार बनाउँछ।
त्यस्तै खेतमा लगाइएको मकै पनि पाकेर भित्र्याउने बेला भएको छ। खासगरी उकाली–ओराली बारी भएका ठाउँहरूमा खेतको छेउछाउमा लगाइएका मकैहरू भित्र्याउने तयारी भइरहेको छ। हेटौंडा आसपासदेखि लिएर, भीमफेदी, राक्सिराङ, बकैया र मकवानपुरगढीसम्मका किसानहरू मकैको घोगा छुट्याउने र भण्डारण गर्ने काममा खटिएका छन्।
चैते धान र मकै सँगसँगै भित्र्याउने समय परेकाले किसानहरूमा जनशक्ति व्यवस्थापनमा समस्या देखिएको छ। मजदुर महँगो पर्नुका साथै सहरतिर पलायन भएका युवाहरू गाउँ फर्किन नमान्दा किसानहरू आफैं र परिवारकै जनशक्तिमा निर्भर छन्।
धान र मकै एकैपटक भित्र्याउनु पर्ने हुँदा समय व्यवस्थापन चुनौती भएको छ, यान्त्रिक उपकरण भएमा यो काम सहज हुने किसानहरु बताउँछन् । किसानहरूले थ्रेसर मेसिनको प्रयोग गरी धान झार्न थालेका छन् भने केही स्थानमा मकै टिप्ने, घोगा छोडाउने काम अझै पनि परम्परागत तरिकाले भइरहेको छ। यान्त्रीकरणले समय र लागत दुवै घटाउने भएकाले यस्ता प्रविधिहरूको विस्तार आवश्यक भएको स्थानीय सरकारहरूले बताएका छन्।
यसवर्षको हिउँदको खडेरी, चैतमा परेको असिना र असार लागेपछि सुरु भएको भारी वर्षाका कारण धान र मकै दुवै बालीको उत्पादनमा केही असर परेको छ। कतिपय ठाउँमा धान झर्न थालेको र मकैमा बोट फल्याउन नपाएको किसानहरूले गुनासो गरेका छन्।
तर यस्ता कठिनाइबीच पनि किसानहरू आफ्नो श्रमबाट आंशिक राहत खोजिरहेका छन्। धान बेचेर केही रकम जुटाउने र मकैबाट सस्तो खाध्यान्न सुनिश्चित गर्ने प्रयासमा उनीहरू जुटिरहेका छन्।
चैते धान र मकै भित्र्याउने चटारोबीच अब रोपाइँको मौसम पनि सुरु भएको छ। कतिपय ठाउँमा धान भित्र्याउँदै गर्दा छेउकै बारीमा पानी लगाएर रोपाइँका लागि तयारी पनि थालिएको छ।
यसरी, वर्षाको सुरुआतसँगै मकवानपुरका किसानहरूको जीवन फेरि एकचोटि ऋतुचक्रसँगै घुमिरहेको छ। सिजन अनुसारको बाली भित्र्याउने, नयाँ बालीको तयारी गर्ने, र मौसमसँग जुध्दै आफ्नो परिवारको पेट पाल्ने किसानहरूको कथा सधैं उस्तै देखिए पनि मेहनतको स्वाद हरेक वर्ष फरक–फरक रहन्छ।