बागमतीको बजेटले प्रदेशमाथि बितृष्णा थप्यो– पूर्वमुख्यमन्त्री पौडेल

हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको बजेटमाथि पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता डोरमणि पौडेलले कडा असन्तुष्टि व्यक्त गर्नुभएको छ । पौडेलले बजेटले विकासको आशा भन्दा बढी निराशा र नकारात्मकता फैलाएको टिप्पणी गर्नुभयो । “यो बजेट नीति, दूरदृष्टि र समावेशी विकासको आधारमा होइन, ’भागवण्डा’ शैलीमा तयार पारिएको छ” उहाँले भन्नुभयो ।
पौडेलले बजेटमा प्रदेशवासीको वास्तविक आवश्यकता र दीर्घकालीन योजनाहरूलाई पन्छाएर नेताहरूको सिफारिस, पहुँच र दबाबका आधारमा कार्यक्रम समावेश गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “बजेट नीतिमा होइन, नेताहरूको गुटगत सन्तुलनमा आधारित छ । यसले विकास होइन, असमानता जन्माउँछ ।”
पूर्व मुख्यमन्त्री पौडेलले समान वितरण र समावेशी विकासको सिद्धान्तमाथि बजेटले प्रहार गरेको आरोप समेत लगाउनुभयो । उहाँले बजेटले पहुँच भएका व्यक्ति तथा समूहहरूलाई अघोषित प्राथमिकता दिएको र दुर्गम तथा सीमान्तकृत क्षेत्रहरू बञ्चित पारिएको उल्लेख गर्नुभयो ।
त्यस्तै, उहाँले बिचौलियाको चंगुलमा बजेट कार्यान्वयन हुने खतरा रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । “कागजी योजना बनाउने, अनुमानमा खर्च देखाउने र काम नगर्ने प्रवृत्ति दोहोरिनेछ,” उहाँले भन्नुभयो ।
पौडेलले बजेटले दीर्घकालीन पूर्वाधार विकास, मानव स्रोत सुदृढीकरण, कृषि उत्पादन र रोजगारी सिर्जनाजस्ता मूल विषयलाई बेवास्ता गरिएको बताउनुभयो । भविष्यको विकासको जग कमजोर पार्ने उद्देश्यबाट प्रेरित यो बजेट सङ्घीयताको मर्म बिपरित एवम् प्रदेश प्रतिको बितृष्णालाई मलजल गर्नेखालको भएको उहाँको भनाई छ ।
पौडेलले बजेट र प्रदेश सरकारले अघि सारेको नीति तथा कार्यक्रमबीच तालमे नरहेको र गम्भीर असम्बन्ध एवं विसंगति रहेको बताउनुभयो । उहाँले बजेटलाई विकासभन्दा दलगत राजनीति र आगामी निर्वाचन लक्षित स्वार्थप्रेरित दस्तावेजको रूपमा प्रस्तुत गरिएको टिप्पणी गर्नुभयो।