मकवानपुरमा सवारी साधनको ठक्करबाट बृद्धको मृत्यु
हेटौंडा । चित्लाङ–चन्द्रागिरी सडकखण्डमा नम्मबर नखुलेको सवारी साधनको ठक्करबाट एक वृद्धको ज्यान गएको छ। मकवानपुरको थाहा नगरपालिका–१ कुन्छालस्थित सडकखण्डमा आज दिउँसो करिब ३ बजे सवारी साधनको ठक्करबाट थाहा नगरपालिका–६ बज्रबाराहीका करिब ७१ वर्षीय सिताराम महर्जनको मृत्यु भएको हो।
प्रहरीका अनुसार महर्जन सडक छेउमा हिँडिरहेका बेला हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको थियो। गम्भीर चोट लागेका उनलाई प्रारम्भिक उपचारका लागि बज्रबाराहीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौंस्थित शसस्त्र प्रहरी अस्पताल, सतुङ्गल लगिएको थियो। तर, साँझ ५ बजे अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।
मृतकको शव हाल शसस्त्र प्रहरी अस्पतालमै राखिएको छ। ठक्कर दिएर फरार भएको सवारी साधनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिन बाबु अर्यालको नेतृत्वमा टोली घटनास्थलमा खटिएको छ। प्रहरीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ भने सवारी साधनको पहिचान र चालकको खोजीका लागि प्रयास तीव्र पारिएको छ।
प्रहरीले आसपासको क्षेत्रका सिसीटिभी फुटेज संकलन, प्रत्यक्षदर्शीको बयान र अन्य प्रमाण संकलनको काम गरिरहेको जनाएको छ।
स्थानीय बासिन्दाले उक्त सडकखण्डमा लामो समयदेखि ट्राफिक सुरक्षामा कमजोरी रहेको भन्दै दुर्घटनाको जोखिम बढेको गुनासो गर्दै आएका छन्।







