हेटौंडामा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

जनपत्र
१२ असार २०८२, बिहीबार १८:२१

मकवानपुर । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा हेटौंडामा सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा सञ्चालन गरिएको उक्त अभियान आज सम्म चलेको हो।

कार्यक्रम अन्तर्गत विभिन्न विद्यालय र समुदायमा केन्द्रित गरी अन्तरक्रिया, प्रभातफेरी, र्‍याली, सचेतना कार्यक्रमहरू आयोजना गरिएका थिए। विशेषगरी विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र समुदायका विभिन्न तहका व्यक्तिहरूलाई लक्षित गर्दै लागुऔषधको दुरुपयोग र अवैध कारोबारले पार्ने प्रभावबारे जनचेतना फैलाउने उद्देश्यले कार्यक्रमहरू सञ्चालन गरिएको हो।

आजको समापन कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै उनले लागूऔषधको सेवन र ओसार पसार नियन्त्रण गर्नका लागि सबै क्षेत्रबाट लाग्नुपर्ने बताए । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मिना कुमारी लामा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्का, जिल्ला सुरक्षा समिति सदस्यहरू, विभिन्न संघसंस्था तथा राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, शिक्षक, विद्यार्थी, बुद्धिजीवी तथा स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो।

कार्यक्रम अन्तर्गत बिहान जिल्ला प्रहरी कार्यालयको परिसरमा सहभागीहरूको भेला भएको थियो। त्यहाँबाट प्रभातफेरी सुरु भई बसपार्क, सिमाचोक हुँदै बुद्धचोकमा पुगेर कोणसभामा परिणत गर्दै कार्यक्रम सम्पन्न भएको थियो।

कोणसभामा वक्ताहरूले लागुऔषध दुरुपयोग र अवैध कारोबारले युवापुस्तालाई कसरी अपराध र नाशको दिशातर्फ लैजाँदैछ भन्ने विषयमा प्रकाश पारेका थिए। साथै, सरकार, सुरक्षा निकाय, शिक्षालय र अभिभावकबीच समन्वय गरी बालबालिकालाई प्रारम्भिक तहमै सचेत गराउनुपर्ने आवश्यकता औँल्याएका थिए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले सञ्चालन गरेको सप्ताहव्यापी अभियानले लागुऔषधविरुद्धको लडाइँमा जनस्तरको सहभागिता विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*