एउटै छानामुनि टुटेका छायाँहरूः मकवानपुरमा नशाले लिएको छ महिलाहरूको सास

जनपत्र
७ असार २०८२, शनिबार ०६:५८

हेटौंडा । शान्त घर। भित्रैबाट आउने न्यानो आवाजहरू—हसाँउने, सम्झाउने, बोलाउने, कहिलेकाहीं त झर्कने पनि। ती आवाजहरू अब सुन्न सकिँदैनन्। मकवानपुरका ती छ घर जहाँ पछिल्ला ११ महिनामा महिलाहरूको ज्यान गयो, त्यहाँ अब केवल मौनता छ। रगत सुकिसकेको छ, तर पर्खालहरूले अझै त्यो त्रास बोकेका छन्। घर भनिने ठाउँ, जुन शरण हुनुपर्ने थियो, कहिले डरको कारागार बन्न पुग्छ तुलमाया गोपालीका लागि त्यो दिन त्यस्तै थियो।

भाउजु–देवरको साइनो, सम्झाउने हातमा मृत्युको सन्देश

थाहा नगरपालिकाको एउटा सामान्य घर।  दुई चुल्हो। ५० वर्षीया तुलमाया गोपाली र ३५ वर्षीय विमलमान गोपाली एउटै घरभित्र बस्दै आएका थिए। देवर विमलमान लागुऔषधको कुलतमा थिए। केही समयअघि मात्रै सुधार केन्द्रबाट फर्किएका। त्यो कुलतले उनको परिवार भत्काइदियो—पत्नीले सम्बन्धविच्छेद गरिन्। त्यसपछि जीवन जति अप्ठ्यारो बन्यो, नशाको मात्रा त्यति बढ्दै गयो।

तुलमाया भाउजु थिइन्। नशा छोड भन्न सक्थिन्। फेरि–फेरि सम्झाउँथिन्। तर त्यो सम्झाउने स्वर नै एक दिन उनको मृत्युको कारण बन्यो। एक बिहान आँगनमा निस्किनासाथ, विमलमानले उनको घाँटीमा खुकुरी प्रहार गरे।

पैसाको अभाव, नशाको झोँक, अनि गुडियाको मृत्यु

हेटौंडाको चौकीटोलमा, अर्को भाउजु—गुडिया दास। ३५ वर्षकी थिइन्। सधैंजसो घरको काममा ब्यस्त। उनका देवर राहुल २२ वर्षका, तर बालकजस्तै अन्धा थिए—नशामा।

एक दिन उनले पैसा मागे—लागुऔषध किन्ने। गुडियाले पैसा दिइनन्। त्यो ‘नदिएको पैसा’ले उनलाई घरकै कोठामा लडायो—र कहिल्यै उठ्न नसक्ने गरी। राहुलले खुकुरी प्रहार गरे। कहिले काँध समाउने देवरको हातले, भाउजुको ज्यान लियो।

श्रीमानको नशाः लक्ष्मीको जीवनमाथि खुकुरीको फैसला

कैलाश गाउँपालिका–५ की लक्ष्मी पाख्रिन मात्र २२ वर्षकी थिइन्। सपना बोकेर घर भित्रिएकी थिइन्। श्रीमान मंगलबहादुरसँग मिलेर केही गर्ने आशा राखेकी थिइन्। तर त्यो आशा मादक पदार्थको नशामा झरेको थियो।

श्रीमान सुधार केन्द्र गएका थिए, फर्किए तर सुध्रिएनन्। एक रात, नशाले ढाकेको उनको होसले लक्ष्मीलाई चिनेन। उनीमाथि खुकुरी चल्यो। बच्चा अझै सुतिरहेको थियो, आमा चाहिँ अब कहिल्यै नउठ्ने भइन्।

हजुरआमाको नातिबाटै अन्त्य, कहाँ हरायो आत्मीयता ?

हेटौंडाको भैरवडाँडामा वृद्ध ठूलीमाया विश्वकर्मा बसिरहेकी थिइन्। छोराछोरी टाढा थिए, उनी आफ्ना नाति प्रविणसँग बस्थिन्। प्रविण ३० वर्षका, तर जीवनमाथि नियन्त्रण गुमाएका। नशाले ढाकेको थियो उनीलाई पनि।

एकदिन घरमै उनले हजुरआमालाई धकेले—त्यो धक्का यति गह्रौँ बन्यो कि जीवन नै रोकियो। वृद्ध, न्यानो हात दिने हजुरआमा, आफ्नै नातिबाट मृत्यु पाउनु त्यो पनि एक किसिमको सामाजिक बर्बादी हो।

अम्बिकाको जीवनमाथि टुंगिएको प्रेम

२०८१ साल भदौ ९ गते हेटौंडा–५ अम्बिका भण्डारीको हत्या भयो। त्यो पनि आफ्नै श्रीमानबाट। केशवबहादुर भण्डारी मादक पदार्थको नशामा डुबेका थिए। उनको प्रेमले अम्बिकालाई बाँधेको थियो, तर त्यो प्रेम हिंसामा परिणत हुँदा उनले जीवन गुमाइन्। केशवले हत्या गरेपछि आफैँ आत्महत्या गरे। एउटा घर, दुई शव—भित्र थियो टुक्रिएको भरोसा, जलिरहेको भविष्य।

नशा, परिवारभित्रको ‘शत्रु’

यी सबै घटनामा एउटा साझा कुराले जोड्छ—लागुऔषध र मादक पदार्थ। नशाले केवल मान्छेको चेतना मात्रै होइन, मानवता, सम्बन्ध र संवेदना सबै मारेको छ। जिल्ला प्रहरी कार्यालय प्रवक्ता डीएसपी श्यामु अर्याल भन्छन्, “हामीले घटनाहरूको विश्लेषण गर्दा देख्यौँ—प्रायः हत्यारा आफन्तै हुन्। र ती सबैमा नशा सामेल छ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*