जिल्ला प्रशासन मकवानपुरमा पत्रकारलाई दृश्य खिच्न रोक
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा शुक्रबार पत्रकारहरुलाई दृश्य खिच्न रोक लगाइएको छ। जनप्रतिनिधिमाथिको आक्रमणसम्बन्धी छलफल तथा तीन वटा छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलन गर्न पुगेका पत्रकारलाई प्रवेशमा रोक लगाउँदै कार्यकक्षभित्र दृश्य खिच्न निषेध गरिएको हो।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्कीम श्रेष्ठको कार्यकक्षमा जनप्रतिनिधिमाथिको आक्रमणसम्बन्धी छलफल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ज्ञापनपत्र र कांग्रेस मकवानपुरको ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम आयोजना गरिएको थियो।
तर उक्त कार्यक्रममा समाचार संकलनका लागि पुगेका करिब एक दर्जन पत्रकारहरुलाई सुरक्षा गार्डमार्फत कार्यकक्ष प्रवेशमा नै रोक लगाइएको हो।
तर प्रमुख जिल्ला अधिकारीका पीएसओले उनीहरूलाई प्रवेशमा रोक्दै दृश्य खिच्नसमेत नदिने जानकारी दिएका थिए। कार्यकक्षभित्र प्रवेश पाएका केही पत्रकारले दृश्य खिच्न खोज्दा प्रजिअ श्रेष्ठ आफैंले नखिच्न निर्देशन दिएकी थिइन्।
यसबारे केही बेर भनाभनसमेत भएको थियो। पत्रकारहरूले सहज रूपमा समाचार संकलन र दृश्य कैद गर्ने अधिकार माग गरे पनि श्रेष्ठले मौन बस्दै कार्यक्रम अगाडि बढाएकी थिइन्। अन्ततः पत्रकारहरूको क्यामेरा र मोबाइल बन्द गराएपछि मात्र कार्यक्रम संचालन गरिएको थियो।
घटनाप्रति प्रेस युनियन मकवानपुरले आपत्ति जनाएको छ। युनियनका अध्यक्ष सुवास विडारीले प्रशासनको यस व्यवहारलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको खुला हस्तक्षेप भएको बताएका छन्।
‘सरकारी कार्यालयमा समाचार संकलन गर्न रोक लगाउनु र दृश्य खिच्न अवरोध गर्नु प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन हो,’ अध्यक्ष विडारीले भने, ‘प्रशासनले यस्ता गतिविधि तत्काल रोक्नुपर्छ र प्रेस स्वतन्त्रताको संरक्षण गर्नुपर्छ।’
उनले घटनाबारे गम्भीर ध्यानाकर्षण जनाउँदै थप छानबिनको माग समेत गरेका छन्।







