सिआन पुनःस्थापना केन्द्रमा प्रदेश सरकार र प्रहरीको अवलोकन तथा अन्तरक्रिया
हेटौंडा/ बागमती प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालय र बागमती प्रदेश प्रहरी कार्यालयको संयुक्त आयोजनामा सिआन पुनःस्थापना केन्द्र हेटौंडा–९ लामसुरेमा अवलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पुनःस्थापनाका विषयमा सरोकारवाला निकायहरूसँग छलफल गर्दै केन्द्रले विद्यमान समस्या र सुधारका उपायहरू सहितको सुझाव पत्र हस्तान्तरण गरेको छ।
कार्यक्रममा प्रहरी निरीक्षक राजेन्द्र थापा मगर, वरिष्ठ सह–निरीक्षक ध्रुव हमाल, प्रहरी जवान राजु थापा मगर र सहायक निरीक्षक लिला गुराउ सहभागी थिए। केन्द्रले उनीहरूको उपस्थिति र अवलोकनप्रति धन्यवाद प्रकट गरेको छ।
कार्यक्रमको अवसरमा सिआन पुनःस्थापना केन्द्रले पुनःस्थापनासम्बन्धी विभिन्न समस्या तथा चुनौतीहरू समाधान गर्न प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय दुवैलाई लिखित सुझाव प्रस्तुत गरेको छ। प्रस्तुत सुझावमा उद्धारदेखि पुनःस्थापनासम्मका चरणहरूमा प्रहरीको भूमिकालाई सशक्त बनाउने, समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने र पुनःस्थापना केन्द्रलाई औपचारिक नीतिगत संरचनामा स्थान दिने कुरामा जोड दिइएको छ।

सुझावपत्रमा समेटिएका मुख्य विषयवस्तुहरू यस प्रकार छन्:
-
उद्धार प्रक्रियामा देखिएको जोखिम र अन्योल हटाउन स्पष्ट मार्गनिर्देशन आवश्यक
-
उद्धार, उपचार तथा पुनःस्थापनामा प्रहरी र राज्यको प्रत्यक्ष सहयोग
-
समुदायमा आधारित जनचेतना तथा निगरानी अभियानमा प्रहरीको सहभागिता
-
जिल्लास्तरदेखि प्रदेश तहसम्म पुनःस्थापनाका मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने
-
पुनःस्थापना केन्द्रहरूलाई लागुऔषध नियन्त्रण, अपराध र हिंसा न्यूनीकरणमा सहायक संरचना ठान्ने चेतना विकास
केन्द्रद्वारा उठाइएका प्रमुख मागहरू:
-
उद्धारका लागि स्पष्ट प्रोटोकल निर्माण गरी सबै केन्द्रहरूसँग साझा गर्नुपर्ने
-
प्रहरी प्रशासन र पुनःस्थापना केन्द्रहरूबीच नियमित समन्वय बैठक र विश्वास निर्माण कार्यक्रम सञ्चालन गर्नुपर्ने
-
पुनःस्थापनासम्बन्धी गतिविधिमा प्रहरीलाई सशक्त साझेदारको रूपमा परिचालन गर्नुपर्ने
-
केन्द्रहरूलाई प्रविधि, संरचना तथा सुरक्षात्मक सहयोग उपलब्ध गराइनुपर्ने
-
पुनःस्थापना केन्द्रहरूको भूमिका नीतिगत तथा कार्यान्वयन तहमा औपचारिक रूपमा समावेश गर्नुपर्ने
उक्त कार्यक्रममार्फत प्रदेश प्रहरी कार्यालयले प्रस्तुत सुझावहरूलाई गम्भीर रूपमा लिँदै निकट भविष्यमै आवश्यक समन्वय र कदम चाल्ने प्रतिबद्धता जनाएको छ।
सिआन पुनःस्थापना केन्द्रले प्रदेशस्तरीय सहकार्य र नीतिगत सहजीकरणमार्फत पुनःस्थापनाको क्षेत्रमा दीगो र प्रभावकारी सुधार सम्भव हुने विश्वास व्यक्त गरेको छ।







