हेटौंडामा लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

जनपत्र
५ असार २०८२, बिहीबार १९:२२

हेटौंडा । मकवानपुरको हेटौंडाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। लागूऔषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–४ फरेष्टी गेट अगाडि शंकास्पद रूपमा बसेका दुई जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–४ कमलडाँडाका ४२ वर्षीय अनुपकुमार रुम्बा र सोही क्षेत्रका ३३ वर्षीय मणी लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । उनीहरूलाई नियन्त्रणमा लिएर रीतपूर्वक खानतलासी गर्दा उनीहरूकै साथबाट ७७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।

बरामद लागूऔषधसहित दुवैजनालाई नियन्त्रणमा लिएर लागूऔषध खैरो हेरोइन सम्बन्धी कसुरअन्तर्गत आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रहरी स्रोतका अनुसार लागूऔषध कारोबार नियन्त्रण गर्नका लागि निगरानी र सूचना संकलन कार्य अझ सशक्त बनाइएको छ। पछिल्ला दिनमा लागूऔषध कारोबारमा संलग्नहरूलाई लक्षित गरी जिल्लाभर सक्रिय निगरानी राखिएको प्रहरीको भनाइ छ।

 

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*