थाहा नगरपालिका–१ मा गोपालीद्वारा धारिलो हतियार प्रहार गरी भाउजुको हत्या
मकवानपुर / मकवानपुर जिल्लाको थाहा नगरपालिका–१ कुन्छालमा सोमबार दिउँसो एक महिलाको धारिलो हतियार प्रहारबाट हत्या गरिएको छ। हत्या गर्ने व्यक्ति फरार भए पनि केही घण्टामै प्रहरीको नियन्त्रणमा लिइएको छ।
स्थानीय ५० वर्षीया तुलमाया गोपालीको आफ्नै छिमेकी तथा देवर बिमलमान गोपालीले खुकुरी प्रहार गरी हत्या गरेका हुन्। प्रहरीका अनुसार घटना सोमबार दिउँसो करिब २ः२० बजे भएको हो। आरोपितले तुलमायाको टाउको र जिउ छुट्टिने गरी धारिलो हतियार प्रयोग गरेर हत्या गरेका थिए। घटनास्थलमै मृत्यु भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
घटनाको जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक सबिनबाबु अर्याल नेतृत्वको टोली र अस्थायी प्रहरी पोस्ट बज्रबाराहीका प्रहरी निरीक्षक सन्तु कुमार लामाको टोली घटनास्थल पुगेको थियो।
हत्या गरेपछि फरार रहेका बिमलमान गोपालीलाई प्रहरीले करिब ३ः३५ बजे थाहा नगरपालिका–३ स्थित थानाबजारबाट खुकुरीसहित नियन्त्रणमा लिएको जनाएको छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पालुङमा राखिएको छ।
घटनास्थलको प्रारम्भिक अनुसन्धानपछि मृतक तुलमायाको शव पोष्टमार्टमका लागि काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको छ। मृतकको माइती पनि सोही ठाउँ कुन्छालमै रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा घटनाको कारण पारिवारिक विवाद हुनसक्ने आशंका गरिएको छ।
यस घटनाले स्थानीयवासीलाई स्तब्ध तुल्याएको छ। प्रहरी स्रोतका अनुसार घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। बिमलमान गोपालीमाथि हत्या मुद्दा दर्ता गरी प्रक्रिया अघि बढाइने जनाइएको छ।







