बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न
हेटौंडा— बागमती प्रदेश विश्वविद्यालयले आफ्नो प्रथम वार्षिक दिवस समारोह आज सामाजिक विकास मन्त्रालयको सभाहलमा सम्पन्न गरेको छ। समारोहको प्रमुख अतिथि प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा रहनु भएको थियो भने सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठ विशेष अतिथिको रूपमा उपस्थित हुनु भएको थियो।
समारोहमा विश्वविद्यालयका डिन डा. गंगाराम विश्वकर्माले स्वागत मन्तव्य राख्नुका साथै अतिथिहरुलाई स्वागत गर्नुभयो। विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीले वार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो।
मुख्यमन्त्री लामाले बागमती प्रदेश विश्वविद्यालयलाई व्यावसायिक र प्राविधिक शिक्षामा केन्द्रित गरिने र प्रदेशको गौरवशाली आयोजनाका रूपमा अगाडि बढाइने प्रतिबद्धता जनाउनुभयो। उहाँले आवश्यक बजेट व्यवस्थापन तथा आंगिक क्याम्पस स्थापनाको निर्णय चाँडै गरिने स्पष्ट पार्नुभयो।
सामाजिक विकास मन्त्री खड्गी श्रेष्ठले उच्च शिक्षा प्रदेश सरकारको एकल अधिकार क्षेत्र भएको उल्लेख गर्दै प्रदेशस्तरीय विश्वविद्यालयको औचित्य र आवश्यकता पुष्टि गर्नुभयो।
हेटौंडा उपमहानगर प्रमुख मिना कुमारी लामाले विश्वविद्यालयलाई जग्गा तथा अन्य सहयोगमा नगरपालिकाको पूर्ण प्रतिबद्धता रहेको बताउनुभयो।
प्रदेश सरकारका प्रमुख सचिव भूपाल बरालले विश्वविद्यालयले अनुसन्धानमा जोड दिने र विद्यार्थीलाई प्रदेशमै अध्ययन गर्न प्रेरित गरिने बताउनुभयो।
प्रदेश नीति तथा योजना आयोग सदस्य गुणराज मुक्तान र प्रदेशसभा सदस्य एकलाल श्रेष्ठले उच्च शिक्षाको विविध पक्षमा प्रकाश पार्दै बागमती विश्वविद्यालयसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको समापनमा विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले विश्वविद्यालयका हालसम्मका उपलब्धि, चुनौती र आगामी योजनाबारे जानकारी गराउँदै प्रदेश सरकारलाई आवश्यक निर्णय चाँडो गर्न अनुरोध गर्नुका साथै सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।







