मनहरी–८ देउकोटका वासिन्दाहरुको खानेपानीको समस्या हट्यो

हेटौंडा । अहिले घर ग्रामीण जीवनशैली अझै पनि विविध कठिनाइले भरिएको छ। तीमध्ये सबैभन्दा गम्भीर र दीर्घकालीन समस्या हो टाढा सम्म पानी लिन जानुपर्ने बाध्यता। मकवानपुरका धेरै ग्रामिण भुभागहरुमा अझै पनि पानीका लागि टाढा जानुपर्ने बाध्यता छदैछ । धेरैजसो दुर्गम भेगमा बसोबास गर्ने नागरिकहरू अझै पनि बिहानै उठेर घण्टौंको दूरी पार गर्दै पानीको खोजीमा जान बाध्य छन्।
यस बाध्यताले सामान्य जीवनयापनमा गम्भीर असर पार्दछ। घर नजिकै पानीको सुविधा नहुँदा महिलाहरू र बालबालिकाहरूलाई विद्यालय, घरधन्दा र आरामको समयसमेत गुमाउनु पर्छ। एक डोको पानी ल्याउन उनीहरूलाई भिर, खोँच र जंगल पार गर्दै जोखिमपूर्ण यात्रा गर्नु परिरहेको छ ।
यस्तै बाध्यता र समस्या पस्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–८ देउकोटका वासिन्दालाई वषौं देखि खेप्नुपर्यो । तर अहिले परिस्थिति परिवर्तन हुँदैछ। घरघरमा धारा जडान भएपछि देउकोटमा पानीको पुरानो समस्या हटेको छ। धारा जडानसँगै दैनिक जीवनमा सहजता आएको स्थानीय विष्णु लोप्चनले बताए ।
पानीका लागि पहिले धेरै नै समस्या बेहोर्नु परेको बताउँदै लोप्चनले भनीन–‘पहिले एक गाग्रो पानी लिनका लागि हामीले धेरैनै दुख पायौ । अब भने यो समस्याबाट मुक्ति पाएका छौ । पहिले पानीका लागि एउटा गाउँको लागि एउटा धारा थियो र अहिले घरघरमा धारा भएपछी हाम्रा धेरै समस्या समाधान भएका छन् ।
बिहान पानी लिन जाँदाको हतार, लाइनको झमेल, समयको बर्बादी—यी सबै कुरामा उल्लेखनीय सुधार आएको छ। अब यहाँका नागरिकहरू बिहान चिया पिउँदै, समाचार सुन्दै धाराबाट पानी लिन सक्छन्। यसले घरधन्दा, अध्ययन, कृषि, स्वास्थ्य र सरसफाइमा प्रत्यक्ष सकारात्मक असर पार्न थालेको छ।
पानीको झमेलाले महिलाहरूको दिनभरको समय प्रभावित हुन्थ्यो। बालबालिकाहरू विद्यालय जान ढिलो हुन्थ्यो। तर घरमै धारा भएपछि महिलाहरू अन्य काममा लाग्न पाएका छन्, छोरा छोरीहरू विद्यालय जान नियमित भएका छन्। यसले शिक्षा र महिला सशक्तीकरणमा पनि सहयोग पु¥याएको छ।
अहिले स्थानीयमा हातधुने, भाँडा माझ्ने, नुहाउने आदि काम नियमित हुँदा व्यक्तिगत र सामुदायिक सरसफाइमा सुधार आएको छ। घरघरमा धारा हुनु सफा र सुरक्षित जीवनतर्फको पाइला हो। यद्यपि यस क्षेत्रका धेरै ठाउँमा पानीको समस्या हटेको छ ।
खानेपानी समस्याले निकैनै पिरोल्यो । एक गाग्रो पानीका लागि यहाँका बालबालिका, महिला र घरका अरु सदस्यहरुले निकै सास्तीनै खेप्नुपर्यो । पानीको श्रोत ठुलो नहुँदा यहाँका धेरै परिवारले पानीका लागि ओल्लो गाउँ र पल्लो गाउँमा धाउनुपर्ने बाध्यता भोग्नुपरेको स्थानीय वासिन्दाहरु बताउँछन् ।
यहाँका वासिन्दाहरुलाई खानेपानी सुविधा दिलाउनका लागि भनेर देउकोट खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन गरेर २०७० साल देखि निरन्तर रुपमा काम गरिदै आएको छ । चालु आर्थिक वर्षमा मात्र यस खानेपानी योजनाको काम सकेर यहाँका एक सय परिवारका घरघरमा दैनिक रुपमा निरन्तर पानी आएको स्थानीय सुरेन्द्र थिङले बताए । त्यतीबेला एक गाग्री पानीका लागि भोग्नुपरेको समस्या बताउँदै देउकोटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रामसिंह थिङ भन्छन्–‘पानीका लागि मुहानको समस्या थियो । एउटा गाउँभरीमा थोरै धारा थिए । पानी लिनका लागि बिहान र बेलुका घरका सबै काम मायाँ मारेर धाउनुपर्ने बाध्यता थियो । तर, अहिले घरघरमा धारामा पानी आएको छ । निकै सहज भएको छ ।’
सबैभन्दा सुरुमा यहाँ पानी खुवाउनका लागि तत्कालिन हाँडीखोला गाविस कार्यालयबाट योजनाको सुरुवात गरिएको थियो । तर, हरेक वर्ष थोरै बजेट पर्ने भएका कारण योजना सम्पन्न गर्नका लागि निकै समस्या थियो ।
बषौ वितीसक्दा पनि योजना सम्पन्न हुने कुनै छाटनै थिएन । तर, पछी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय हेटौंडाले बितेको आर्थिक वर्ष र चालु आर्थिक वर्षमा पर्याप्त बजेट दिएकै कारण योजना सम्पन्न भएर प्रत्यक घरका धारामा पानी खसाल्न सफल भइएको अध्यक्ष थिङले बताए ।
अहिले यहाँका घरघरमा पानीका धारासंगै मिटर पनि जडान गरिएको छ । डिभिजन खानेपानी कार्यालयले बितेको आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरेर योजना सम्पन्न गराएको खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ कार्यालयका प्राविधिक सन्तोष थोकरले जानकारी दिए ।
बितेको आर्थिक वर्षमा २८ लाख रुपैयाँ लागतमा यस खानेपानी योजनाका लागि जमिनमुनी खनेर पाइप विस्तार गरिएको हो । पाइप विस्तार गरेर बाँकी रहेको काम अनुसार चालु आर्थिक वर्षमा धारा जडान गर्ने लगायतका कामहरु गरेर योजना सकिएको थोकरले जानकारी दिए ।
चालु आर्थिक वर्षमा भने खानेपानी डिभिजन कार्यालयले यस योजनाका लागि भनेर दश लाख रुपैयाँ लागतमा काम गरेको हो । यहाँ पानी खुवाउनका लागि देउकोटको खोल्सामा लिफ्टीङ गरेर पानी टंकीमा जम्मा गरेर वितरण गरिएको स्थानीय वासिन्दाहरुले बताएका छन् । यस क्षेत्रमा लिफ्टीङ गरेको पानी वितरणका लागि अटोमेसन समेत जडान गरिएको छ । यसले घरमै मोवाइलबाट खानेपानीको मुहानको मोटर बन्द गर्ने र खोल्न मिल्ने सुविधा समेत दिलाइएको खानेपानी डिभिजनका प्राबिधिक थोकरले बताए ।
यहाँ पानी संकलनका लागि भनेर ८० हजार लिटरको पानी टंकी निर्माण गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष थिङले बताए । ठुलो पानी टंकी भएपछी एक सय घरलाई पानी खुवाउनका लागि कुनैपनि समस्या नभएको उनको भनाई छ ।
“पानी जीवन हो“ भन्ने कुरा केवल भनाइ मात्र होइन, यो जीवनको मूल आवश्यकता हो। तर, अझै पनि हजारौं मकवानपुरका बिभीन्न स्थानीय तहका विकट क्षेत्रका नागरिकहरू यो जीवनको आधारभूत अधिकारबाट वञ्चित छन्। टाढाबाट पानी ल्याउनु पर्ने बाध्यता हटाउन राज्य, समाज र हाम्रा साझा प्रयासहरू अपरिहार्य छन्। विकास भनेको सडक मात्र होइन, घर नजिकै धारो बग्नु पनि हो। पानीको सहज पहुँच सुनिश्चित गर्नु नै समृद्धिको पहिलो पाइला हो।