बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

जनपत्र
२२ जेष्ठ २०८२, बुधबार २१:००

हेटौंडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ। प्रदेशसभाको बुधबारको बैठकमा सभामुख भुवनकुमार पाठकले निर्णयार्थ प्रस्तुत गरेपछि उक्त नीति तथा कार्यक्रम पारित भएको हो।

मुख्यमन्त्री बहादुरसिंह लामाले संसदमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रस्तुत नीति तथा कार्यक्रमलाई “उत्कृष्ट” भन्दै यसको बचाउ गरे। उनले चालु खर्च नियन्त्रण गर्न सबै राजनीतिक दलहरूलाई एकजुट हुन आग्रह गर्दै अनावश्यक संरचना विस्तार नगर्ने र दिगो कार्यक्रमहरूलाई प्राथमिकता दिने बताएका छन्।

मुख्यमन्त्रीले प्रदेश सरकारको लगानी तथा योजनाहरूको मूल्यांकनको आवश्यकतालाई औंल्याउँदै निजी क्षेत्रसँगको सहकार्य पनि अपरिहार्य रहेको उल्लेख गरे। भ्रष्टाचार नियन्त्रणका लागि सम्पत्ति विवरण प्रणाली निर्माणको पहल गर्नुपर्ने धारणा पनि व्यक्त गरे।

उनले साना योजनाको थुप्रोले प्रभावकारीता गुम्ने भन्दै ठूला र दिगो योजनाहरूमा जोड दिनुपर्ने आवश्यकता बताए। प्रस्तुत नीति तथा कार्यक्रमले बागमती प्रदेशको आर्थिक, सामाजिक विकासलाई सुदृढ पार्ने, सुशासन कायम गर्ने र आत्मनिर्भरता तर्फको बाटो खोल्ने विश्वास मुख्यमन्त्री लामाले व्यक्त गरे।

यसैबीच, तीन दिनसम्म सांसदहरूले नीति तथा कार्यक्रममाथि आ–आफ्नो धारणा राखेका थिए। अब बागमती प्रदेशसभाको अर्को बैठक जेठ ३० गते दिउँसो १ बजे बस्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*