बागमती प्रदेश सभाबाट फेरी दुई विधेयक पारित

जनपत्र
२२ जेष्ठ २०८२, बुधबार ०७:४२

मकवानपुर । बागमती प्रदेश सभाले मंगलबार दुई वटा विधेयक पारित गरेको छ । प्रदेश सभाको सोमबार बसेको बैठकले पनि दुई वटा विधेयक पारित गरेको थियो ।प्रदेश सभाको मंगलबार बसेको बैठकले संसदीय समितिबाट प्रतिवेदनसहित प्राप्त २ विधेयक पारित गरेको हो । शिक्षा, स्वास्थ्य तथा कृषि समितिबाट प्रतिवेदनसहित आएका कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भएको हो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले संसदमा कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिको प्रतिवेदनसहित छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उनले प्रदेश सभा सदस्य रत्नप्रसाद ढकाल छलफलमा भाग लिँदै पारित भएका ऐन कार्यान्वयन हुन नसकेको, कृषकहरूको समस्या, मल–बिउको सहज उपलब्धता हुन नसकेको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले प्रस्तुत विधेयकले कृषि क्षेत्रको विकास, कृषकको समस्या, उत्पादन र उत्पादकत्वका विषय समेटेको बताए । रासायनिक मलको व्यवस्थापन, प्राङ्गारिक मल उत्पादन, बिउ पुँजी वितरणका योजनालाई प्रभावकारी कार्यान्वयन गर्नेगरी विधेयक ल्याएको उनको भनाइ थियो । विधेयकमाथि छलफल सकिएपछि मन्त्री श्रेष्ठले सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए ।

सभामुख भुवनकुमार पाठकले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई निर्णायार्थ पेस गरेको उक्त विधेयक सर्वसम्मत रूपमा पारित भएको हो ।

बैठकमा स्वास्थ्यमन्त्री किरण थापाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई समितिको प्रतिवेदन सहित छलफलका लागि पेस गरेका थिए । विधेयकमाथिको छलफलमा सुरेन्द्रराज गोर्साई, रत्नप्रसाद ढकालले भाग लिएका थिए । उनीहरूले नागरिकको स्वास्थ्य सुविधाको अधिकार सुनिश्चितता तथा सुलभ उपलब्धताका लागि प्रभावकारी ढंगले कार्यान्वयनमा अघि बढ्नुपर्ने बताएका थिए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री थापाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन कार्यान्वयन पश्चात प्रदेशको स्वास्थ्य क्षेत्रमा परिवर्तन आउने बताए । प्रदेशमै चिकित्सा शिक्षाको तर्फका विभिन्न विधामा अध्यापन गरेर नागरिकको सेवामा खटाउने गरी सरकार अघि बढेको उनको भनाइ थियो ।

त्यसपछि मन्त्री थापाले उक्त विधेयकलाई पारित परियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सभामुख पाठकले निर्णयार्थ पेस गरेको उक्त विधेयकलाई प्रदेश सभाले सर्वसम्मत पारित गरेको हो ।

प्रदेश सभाबाट पारित भएका ती विधेयकलाई प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष पेस गरिने छ । प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गर्नेछ र ती विधेयक कार्यान्वयनमा जानेछन् ।

बैठकले प्रदेशस्तरको चिट्ठा व्यवस्थापन गर्न बनेको विधेयकलाई समितिमा दफावार छलफलका लागि पठाएको छ । प्रदेश सभाको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव पनि सर्वसम्मत स्वीकृत भएको हो ।

सो विधेयक प्रदेश प्रमुख कार्यालयबाट यसअघि फिर्ता भएको थियो । सो विधेयकमाथि सत्तारुढ दल नै दुई ध्रुवमा विभाजित छन् । विधेयकका कमी–कमजोरी सुधार गर्नेगरी समितिमा छलफल हुने मन्त्री लामिछानेले बताए । रातोपाटीबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*