बागमती गाउँपालिका–९ का वासिन्दाको घरघरमा धारा जडान गरेर पानी खाने दश वर्ष देखिको सपना पुरा

२०७२ सालको भुकम्पका कारण खानेपानीका मुहान सुकेपछी मुक्तान स्वारा गाउँमा खानेपानीको निकै समस्या थियो । तर, अहिले यहाँ खानेपानी योजना सम्पन्न भएपछी घरघरमा धाराबाट पानी आउन थालेको छ पानीका लागि टाढा धाउनुपर्ने बाध्यता पनि हटेको छ ।
जनपत्र
१३ जेष्ठ २०८२, सोमबार ०८:५५

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–९ मुक्तान स्वाराका वासिन्दाहरुको घरघरमा धारा जडान गरेर पानी खाने दश वर्ष देखिको सपना पुरा भएको छ । आफ्नै घर आगनमा पानेपानीका धारा जडान भएर पानी पिउँदा उनीहरु पनि निकै खुसी समेत भएका छन् ।

२०७२ सालको भुकम्पका कारण खानेपानीका मुहान सुकेपछी मुक्तान स्वारा गाउँमा खानेपानीको निकै समस्या थियो । तर, अहिले यहाँ खानेपानी योजना सम्पन्न भएपछी घरघरमा धाराबाट पानी आउन थालेको छ । पानीका लागि टाढा धाउनुपर्ने बाध्यता पनि हटेको छ ।

यहाँका २८ परिवारका लागि २०७२ सालको भुकम्पपछी धारामा सानो पानी आउने र पालो पर्खनुपर्ने बाध्यता निकै थियो । अझै चैत, बैशाखको खडेरीमा पानीको समस्या निकै बेहोरेको स्थानीय महिलाहरु बताउँछन् ।

पहिले स्थानीय डुम्रेखोलाबाट धारामा पानी ल्याइएको थियो । भुकम्प गए लगतै देखि यस धारामा पानी निकै कम मात्रामा आउन थाल्यो । पानीको मुहान पनि सुक्यो त्यसपछी यस क्षेत्रमा पानीको समस्या निकै बढ्न थाल्यो । अनी अर्को खानेपानी योजना सुरु गर्ने स्थानीयको छलफलबाट निर्णय गरेपछी मुक्तान स्वारा खानेपानी योजना सुरु गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष सन्जलाल सिंतानले बताए ।

अहिले घरघरमा धारामा पानी झरेको बताउँदै उनले भने–‘पानीको समस्या जती भोग्नुपर्यो पहिलेका दश वर्ष सम्म हामीले भोग्यौ । अब त्यो समस्या भोग्नुपर्ने छैन । घरघरमा धाराबाट पानी आउन थालेको छ । अहिले हामीले यही पानी प्रयोग गरेका छौं ।’

यहाँका २८ परिवारलाई खानेपानीको सुविधा दिलाउनका लागि खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ को कार्यालयले सहयोग गरेको छ । यहाँ बागमती गाउँपालिका वडा नम्बर–९ कै सुम्रे खोला र ठुलो छाँगाबाट पानी ल्याइएको हो ।

पानीको समस्या भोग्दै गएपछी खानेपानी डिभिजन कार्यालयको दुइ वर्षको लागनीबाटनै यहाँको योजना सकिएको खानेपानी उपभोक्ता समितिका सदस्य तथा यहाँका उपभोक्ता जुनुमायाँ सिंतान बताउँछिन । खानेपानी डिभिजन कार्यालयले बितेको आर्थिक वर्षमा १० लाख रुपैयाँ र चालु आर्थिक वर्षमा १८ लाख रुपैयाँ लागतमा यो योजना सकेको हो । यस बजेटबाट खानेपानीको मुहानमा सफा गर्ने, पानी टंकी निर्माण गर्ने, पाइप लाइन बिच्याउने, रिजप टंकी निर्माण गर्ने लगायतका काम भएको छ ।

गाउँमा पानी वितरण गर्नका लागि सहज होस भनेर ३० हजार लिटर क्षमताको पानी टंकी निर्माण गरिएको बताउँदै उपभोक्ता समितिका अध्यक्ष सिंतानले भने–‘२८ परिवारलाई पुग्ने ठुलो क्षमताको पानी टंकी निर्माण गरेपछी अब पानीका लागि सुख्खा याममा पनि समस्या हुने छैन । मानिसलाई खान मात्र नभइकन, गाई, भैसी, बाख्राहरुलाई खुवाउनका लागि पनि सजिलो भएको छ ।

घरघरमा धारामा पानी आएपछी आफुहरु धेरै खुसी भएको र पानी बोकेर ल्याउनुपर्ने बाध्यता पनि हटेको स्थानीय जयकुमारी मुक्तान बताउँछिन् । यहाँका नागरिकलाई पानी खुवाउनका लागि सबै जसो काम सकिएको यस आयोजनामा खरिएका प्राविधिक सन्तोष थोकर बताउँछन् । अहिले भने यहाँ अरु सबै काम सकिएर कम्पाउण्डवाल निर्माणको काम भइरहेको उनले बताए ।

मकवानपुर र चितवन जिल्लामा सञ्चालित खानेपानी योजनाहरु छिटो भन्दा छिटो सम्पन्न गरेर उपभोक्ताहरुलाई हस्तान्तरण गर्न आफुहरु र उपभोक्ताहरु निरन्तर रुपमा खटिएको खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौंडाका प्रमुख रविन श्रेष्ठले बताए ।

अबको बजेटमा नयाँ योजना भन्दा पनि सञ्चालन भइरहेका अधुरा योजनाहरुलाई सक्नेगरी बजेट राख्नका लागि आग्रह गर्दै उनले भने–‘खानेपानीका योजना धेरै हुने तर, थोरै बजेट राख्ने वषौ अघिदेखिको परिपाटीका कारण योजना समयमा सक्नका लागि समस्या भइरहेको छ । अब भने योजना सक्नेगरी बजेट राख्नका लागि आग्रह गर्दछु ।’

खानेपानी डिभिजनमा प्राबिधिक जनसक्ति थोरै रहेको धेरै योजना हेर्नुपर्ने बाध्यता र थोरै बजेटका कारण योजना सक्नका लागि समस्या पनि रहेकोले योजना छनौटमा ध्यान दिनका लागि उनले आग्रह गरे । धेरै योजना सक्नेगरी चालु आर्थिक वर्षमा प्रयत्न गर्दा पनि नसकिएको र केही योजना भने सकिएको श्रेष्ठले बताए ।

योजनाहरु हरेक वर्ष सञ्चालन मात्र भइरहनु भन्दा पनि सक्नेगरी बजेट राख्दाका लागि उपभोक्ताहरुले पानी पनि समयमानै खान पाउने र सरकारी तर्फबाट गरिएको लगानीको प्रतिफल पनि देखापर्ने छ ।

संयुक्त राष्ट्रसंघले सन् २०१० मा सुरक्षित खानेपानी तथा सरसफाइको पहुँचलाई आधारभूत मानव अधिकारको रूपमा घोषणा गरेको छ। नेपालले पनि खानेपानी तथा सरसफाइलाई उच्च प्राथमिकतामा राखेको छ। यससँगै सुरक्षित र भरपर्दो खानेपानी सुविधा तथा आधारभूत सरसफाइको प्रत्याभूति गर्दै विभिन्न नीतिगत, संस्थागत व्यवस्था एवं कार्यक्रम र योजनाहरूको तर्जुमा एवं कार्यान्वयन गर्दै आएको छ।

नेपालको संविधान २०७२ को धारा ३५(४) ले प्रत्येक नागरिकको स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच हुने कुरालाई मौलिक हकको रूपमा स्थापित गरेको छ। यसैगरी संविधानको धारा ३०(१) मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने कुरालाई पनि मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ।

पन्ध्रौं र सोह्रौं पञ्चवर्षीय योजना, खानेपानी, सरसफाइ तथा स्वच्छता नीति २०८० र नेपाल सरकारका क्षेत्रगत नीति तथा कार्यक्रममा समावेश विषयहरू राष्ट्रिय प्रतिबद्धताहरू हुन् भने दिगो विकास लक्ष्य र पेरिस सम्झौता कार्यान्वयनका लागि नेपालले गरेको प्रतिबद्धताहरू अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू हुन्।

दिगो विकास लक्ष्यअन्तर्गत सन् २०३० सम्म हासिल गर्नुपर्ने भनी तोकिएको १७ वटा लक्ष्यहरूमध्ये लक्ष्य नम्बर ६ मा सबैका लागि खानेपानी तथा सरसफाइको उपलब्धता र दिगो व्यवस्थापन सुनिश्चित गर्ने लक्ष्य रहेको छ।

 

लक्ष्य नम्बर ६ भित्र पनि ६ वटा टार्गेट छन्। तीमध्ये टार्गेट नम्बर ६(२) ले सरसफाइलाई समेटेको छ भने बाँकीले खानेपानी क्षेत्रलाई। यी लक्ष्यअन्तर्गत ९९ प्रतिशत जनसंख्यालाई आधारभूत खानेपानी सेवा उपलब्ध गराउने, ९० प्रतिशत जनसंख्यालाई सुरक्षित र गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउने र ९० प्रतिशत जनसंख्यालाई पाइपबाट वितरित खानेपाने सुविधा उपलब्ध गराउने लक्ष्य रहेको छ। एक घर, एक धारा नीतिअन्तर्गत सबैलाई सुरक्षित, सर्वसुलभ र दिगो खानेपानी सेवा उपलब्ध गराउने नेपाल सरकारको नीति छ।

आधारभूत खानेपानीतर्फ ९५ प्रतिशत जनसंख्यालाई सुविधा उपलब्ध गराई सकिएको छ। पाइपबाट वितरित गुणस्तरीय खानेपानी सुविधा भने हालसम्म ३३.३४ प्रतिशतलाई उपलब्ध गराउन सकिएको छ। सन् २०३० सम्म ९० प्रतिशत जनसंख्यालाई यो सुविधा उपलब्ध गराउन अझै धेरै मेहनत र लगानी गर्नुपर्ने देखिन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*