बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्य सस्थाको अनुगमन सुरु

जनपत्र
८ बैशाख २०८२, सोमबार ०७:४६

हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थाहरुको अनुगमन सुरु गरेको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा सुमीत्रा गौतमको नेतृत्व टोलीले  काठमाडौमा रहेको नर्भिक इन्टरनेशनल अस्पतालको अनुगमन गरेको छ। अस्पतालले २०० शय्याको नवीकरणका लागि आवेदन दिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा निर्मित विद्युतीय प्रणालीमार्फत अनुमति नवीकरणका लागि आवेदन परेपछि मन्त्रालयले वैधानिक व्यवस्था, उपचार सेवा, जनशक्ति व्यवस्थापन, स्वास्थ्य प्रयोगशाला, संक्रमण रोकथाम, विपद् व्यवस्थापन लगायतका मापदण्डका आधारमा निरीक्षण गरेको हो।

अनुगमनका क्रममा नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले अस्पतालको हालको सेवा, सञ्चालन प्रक्रिया र आगामी विस्तार योजनाबारे विस्तृत जानकारी दिएका थिए। उनले २०२५ भित्र नयाँ अत्याधुनिक भवन निर्माण गरी सेवा विस्तार गर्न लागिरहेका र यसले नेपालको निजी स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा अझै थप्ने बताए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। गेलालले अनुगमन नियमित प्रक्रिया भएको उल्लेख गर्दै भने, “स्वास्थ्य संस्थाहरूले निर्धारित मापदण्ड पालना गरेका छन् कि छैनन् भन्ने सुनिश्चित गर्न यस्ता अनुगमन आवश्यक छन्। नर्भिकले विस्तार योजनामा प्रदेशको स्वास्थ्य नीतिअनुसार काम गरेको देखेर खुशी लागेको छ।”
टोलीले अस्पतालको भौतिक संरचना, सरसफाइ, बिरामी सेवा प्रणाली तथा स्वास्थ्य सुरक्षा मापदण्डको समेत निरीक्षण गरेको थियो।

आधुनिक उपकरण, दक्ष विशेषज्ञ टोली र प्रभावकारी सेवा प्रवाहमार्फत नर्भिकले हरेक वर्ष हजारौं बिरामीलाई सेवा दिँदै आएको कार्यकारी अधिकृत मिश्रले बताए ।
अस्पताल प्रशासनले बागमती प्रदेश सरकारसँगको सहकार्यलाई सकारात्मक भन्दै आगामी दिनहरूमा अझ सस्तो, सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

अनुगमनपछि मन्त्रालयले दिएको प्रारम्भिक प्रतिक्रियामा अस्पतालको सेवा मापदण्ड सन्तोषजनक रहेको र अनुमति नवीकरण प्रक्रिया सम्बन्धित प्राविधिक मूल्याङ्कनपछि अगाडि बढाइने मन्त्रालयका प्रवक्ता डा। गेलालले जानकारी दिनुभयो। अनुगमन टोलीमा मन्त्रालयका प्रवक्ता डा। रबिन भुषाल, कानुन अधिकृत जेनिशा चुवान, नर्सिङ अधिकृत स्वेता मानन्धरलगायत निरिक्षणमा गएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*