बागमती प्रदेश सरकार शान्ति सुव्यवस्था कायम गर्ने कुरामा भूमिका विहीन भयो : मन्त्री लामिछाने

बागमती प्रदेशका आन्तरिक, मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सरकार शान्ति सुव्यवस्था कायम गर्ने र अपराध नियन्त्रण गर्ने कुरामा भूमिका विहीन भएको गुनासो गरेका छन् ।
काठमाडौंमा शनिबार आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले संघ सरकारले आवश्यक कानुन नबनाइदिँदा प्रदेश सरकारको भूमिका शून्य देखिएको बताए ।
प्रदेश सरकार गठन भएको ७ वर्ष भइसक्दा पनि संघीय निजामती, संघीय प्रहरी ऐन र शिक्षा ऐन लगायतका विषयहरू संघीय कानुन नभएको कारणले प्रदेश सरकार बुख्याँचा जस्तो भएको टिप्पणी गरे ।
‘संघीय कानुन नबन्दा, शिक्षा विधेयक नआउँदा अहिले १५ दिनदेखि देशभरका शिक्षकहरू आन्दोलनरत हुनुहुन्छ । प्रदेशको हकमा पनि संघले बनाइदिनुपर्ने कानुनहरू संघले नबनाइदिँदा प्रदेश सरकार गठन भएको ७ वर्ष भइसक्दा पनि संघीय निजामती, संघीय प्रहरी ऐन र शिक्षा ऐन लगायतका विषयहरू संघीय कानुन नभएको कारणले प्रदेश सरकार बुख्याँचा जस्तो भएको छ,’ उनले भने ।