मकवानपुरका ४ क्याम्पसमा आज स्ववियु चुनाव हुँदै
हेटौंडा । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा आज स्ववियुको नेतृत्व चयनका लागि मतदान हुँदै छ । मतदानका लागि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको छ । मकवानपुरका केही क्याम्पसमा निर्विरोध निर्वाचन भएपनि आज यहाँका ठुला ४ क्याम्पसमा आज चुनाव हुँदै छ ।
ऐन, नियम, विनियम र निर्देशिकालाई आत्मसात् गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न त्रिविले अपिल गरेको छ । अध्यक्ष, सचिव, कोषाध्यक्ष र केही सदस्य प्रत्यक्ष तथा उपाध्यक्ष, सहसचिवलगायत केही सदस्य समानुपातिक निर्वाचन प्रणालीअनुसार निर्वाचित हुनेछन् ।
निर्वाचन निर्देशिकामा क्याम्पसमा रहेका विद्यार्थी संख्याका आधारमा स्ववियु कार्यसमिति निर्वाचित हुने व्यवस्था छ । दुई सयसम्म विद्यार्थी रहेको क्याम्पसमा ११, दुई सयदेखि हजारसम्म विद्यार्थी रहेकामा १५, एक हजारदेखि तीन हजारसम्म भए १९ र त्यसभन्दा बढी विद्यार्थी संख्या रहेको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहनेछ । स्ववियु कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।
आज सुरु भएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि मकवानपुर जिल्लामा रहेका ७ वटा क्याम्पसमध्ये ४ वटा क्याम्पसमा चुनाव हुँदै छ। ७ क्याम्पसमध्ये मनहरी क्याम्पसमा निर्विरोध कार्यसमिति चयन गरेसँगै एउटामा विवाद देखिएको छ भने ४ क्याम्पसमा निर्वाचन भएको हो। जिल्लाकै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने मकवानपुर बहुमुखी क्याम्पसमा स्ववियु सभापतिका लागि २ जना चुनावी मैदानमा उत्रिएका छन्।
सभापतिका लागि ४ जनाले मनोनयन दर्ता गरेका भए पनि कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले अनेरास्ववियुसँग संयुक्त प्यानल बनाएर अनेरास्ववियुका उम्मेदवारलाई समर्थन गर्दै नेविसंघका सागर घिमिरे स्वतन्त्रका पुष्कर घिमिरेले उम्मेदवारी फिर्ता लिएसँगै २ जना प्रतिस्पर्धी मैदानमा रहेका हुन्।
सभापतिका लागि अखिल क्रान्तिकारी, अनेरास्ववियू, राप्रपा विसं र विप्लव नेतृत्वको विद्यार्थी संघठनको संयुक्त प्यानलबाट अखिल क्रान्तिकारीका छोईसाङ लामाले उम्मेदवारी दिएका छन्। लामा मकवानपुर बहुमुखी क्याम्पसका निवर्तमान स्ववियु सभापति हुन्।
अनेरास्ववियु र नेविसंघका साझा उम्मेदवार अनेरास्ववियुका प्रसिद्ध रेग्मी मैदानमा छन्। स्ववियु सभापतिका लागि पुष्कर घिमिरेले स्वतन्त्र उम्मेदवारी दिएका छन्। तीनैजना उम्मेदवार यतिखेर मत माग्न व्यस्त देखिएका छन्। मकवानपुर क्याम्पसमा २ हजार ६९८ मतदाता रहेका छन्।
यसैगरी मकवानपुर जिल्लाकै हेटौँडा क्याम्पसमा स्ववियु सभापतिका लागि २ जनाबीच प्रतिस्पर्धा छ। ३ जनाको उम्मेदवारी परे पनि नेविसंघबाट उम्मेदवारी दिएका युवराज विकले अनेरास्ववियुका उम्मेदवारलाई समर्थन गर्दै फिर्ता लिएका थिए।
हेटौँडा क्याम्पसमा स्ववियु सभापतिका लागि नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलबाट अनेरास्ववियुका अभि मैनाली उम्मेदवार बनेका छन्। उनी हेटौँडा क्याम्पसका निर्वतमान स्ववियु सभापति हुन्।
त्यसैगरी सभापतिमा राप्रपा विसं, विप्लव नेतृत्वको विद्यार्थी संगठन, अनेरास्ववियू र अखिल क्रान्तिकारीका संयुक्त प्यानलबाट अखिल क्रान्तिकारीका दिपक वाइबाले उम्मेदवारी दिएका छन्। हेटौँडा क्याम्पसमा ८०५ मतदाता रहेका छन्।
हेटौँडाको वन विज्ञान अध्ययन संस्थान क्याम्पसमा २ जना भिड्दै छन्। ३ जनाको उम्मेदवारी परेको उक्त क्याम्पसमा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूका सुमित लामाले निर्धारित समयमा मनोनयन पत्र नबुझ्दा उनको उम्मेदवारी स्वतः खारेज भएको क्याम्पसका सहायक प्रमुख राजेश सिग्देलले जानकारी दिए।
अब वन विज्ञान अध्ययन संस्थान क्याम्पसमा अनेरास्ववियु र नेविसंघका साझा उम्मेदवार अनेरास्ववियुका श्यामराज भट्ट र अखिल क्रानितकारी तथा अखिल छैठौँको संयुक्त प्यानलबाट अखिल क्रान्तिकारीका छत्र शाही स्ववियु सभापतिका लागि भिड्दै छन्। उक्त क्याम्पसमा ४३८ मतदाता रहेका छन्।
निर्मल बहुमुखी क्याम्पसमा सभापतिका लागि २ जना भिड्दै छन्। ३ जनाले मनोनयन दर्ता गरे पनि उक्त क्याम्पसमा अन्तिम चरणमा अखिल क्रान्तिकारीका सुदिप उप्रेतीले समाजवादीनिकट विद्यार्थी संगठनका अनेरास्ववियूका नबिना घलानलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय पारेका थिए।
अन निर्मल बहुमुखी क्याम्पसमा अनेरास्ववियूका नबिना घलान र अनेरास्ववियुका प्रशाना भण्डारी स्ववियु सभापतिका लागि भिड्दै छन्। निर्मल बहुमुखी क्याम्पसमा ८७ जना मतदाता रहेका छन्।







