हेटौंडा सिमेन्टको हरिबिजोग, अब चलाउन चाहँदैन सरकार

जनपत्र
३ चैत्र २०८१, सोमबार ०७:३५

हेटौंडा/ सरकारको भरथेग हुँदा पनि दशकौंदेखि घिटिघिटी चल्दै आएका आएका सरकारी स्वामित्वका ठूला सिमेन्ट उद्योग हरिबिजोग अवस्थामा पुगेका छन् ।

सरकारको चुपुर चुपुर सहयोगमा सञ्चालन हुँदै आएका हेटौंडा सिमेन्ट उद्योग लिमिटेडका उत्पादन गत असोज पहिलो सातादेखि ठप्प छ । हेटौंडा सिमेन्ट उद्योग ४८ वर्षअघि स्थापना गरेको थियो ।

स्थापनाका सुरुवाती वर्षहरूमा उद्योगले नेपाली सिमेन्ट बजारमा लगभग एकछत्र ‘राज’ गरेको थियो । तर, छोटो अवधिमा भइरहने सरकार परिवर्तन, उद्योगको नेतृत्वमा भइरहने फेरबदल, उद्योगमा हुने राजनीतिक हस्तक्षेप, दक्ष कर्मचारी अभाव, मेसिनरी उपकरण मर्मतसम्भार समयमा नहुनु लगायत कारण दुवै उद्योग धराशायी हुन पुगेका हुन् ।

गत असोज पहिलो सातादेखि हेटौंडा सिमेन्ट उद्योग पूर्णरूपले बन्द छ । तर, सरकारको ध्यान भने  उद्योगलाई चलाउनतिर देखिँदैन । बरु, निजी क्षेत्रलाई दिने योजनामा देखिन्छ । सरकारले निजीकरणका लागि सिफारिस गरेका रुग्ण नौ उद्योगको सूचीमा यी उद्योगको नाम पनि परेका छन् ।

कस्तो छ हेटौंडा सिमेन्टको अवस्था ?

सरकारी तथ्यांक केलाउँदा हेटौंडा सिमेन्ट उद्योग आर्थिक वर्ष २०७५/७६ देखि निरन्तर घाटामा चल्दै आएको छ । हेटौंडाको वार्षिक उत्पादन क्षमता ७ सय २२ टन बराबर हो । तर, क्षमताभन्दा कम परिमाणमा सिमेन्ट उत्पादन गरेका कारण उद्योगले सञ्चालन खर्च पनि धान्न नसकेर बन्द हुन पुगेको देखिन्छ ।

हेटौंडा सिमेन्टले भने कम परिमाणमा क्लिंकर उत्पादन भएकाले बन्द गर्नुपरेको तर्क गरेको छ । पैसा नहुँदा कोइला किन्न नसक्नु र पुराना मेसिन–उपकरण बारम्बार बिग्रिरहने कारण नियमित उद्योग चलाउन नसकिएको उसको थप तर्क छ ।

उद्योग ‘फुलफ्लेज’ मा सञ्चालन गर्न हेटौंडा सिमेन्टले सरकारसँग १ अर्ब ९ करोड रुपैयाँ मागेको थियो । तर, सरकारले पत्याएन । बरु, उल्टै निजीकरण गर्ने सूचीमा हालिदियो ।

हेटौंडा सिमेन्टले आव २०७४/७५ मा भने १६ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो । तर, लगत्तै अर्को आवमा १ करोड ५ लाख घाटा खाएको थियो । आव २०७५/७६ मा २० लाख ८६ हजार ६ सय ६७ बोरा सिमेन्ट बेचेको उद्योगले १ अर्ब ६४ करोड आम्दानी गरे पनि १ अर्ब ६५ करोड खर्च गरेको थियो ।

त्यसैगरी २०७६/७७ मा उद्योगले १४ लाख ५५ हजार ९ सय ६ बोरा सिमेन्ट बेचे पनि २३ करोड ८२ लाख रुपैयाँ बराबर घाटा खाएको थियो । २०७७/७८ मा १८ लाख ५३ हजार ७ सय ६४ बोरा सिमेन्ट बेच्दा पनि १७ करोड ४ लाख घाटा बेहोरेको थियो ।

त्यस्तै आव २०७८/७९ मा १० करोड ६९ लाख हाराहारी घाटा खाँदा १६ लाख १३ हजार ९ सय ६४ बोरा सिमेन्ट बेचेको थियो । हेटौंडा सिमेन्ट उद्योगले २०७९/८० मा साढे २५ करोड रुपैयाँ घाटा बेहोरेको थियो । त्यसबेला सवा ९ लाख बोरा सिमेन्ट उत्पादन गरेको थियो ।

गत आव २०८०/८१ मा भने उद्योगले करिब सवा ६ लाख बोरा सिमेन्ट उत्पादन गरेको थियो ।

हेटौंडा सिमेन्ट चैत दोस्रो सातादेखि फेरि चलाउँछौं : निमित्त महाप्रबन्धक कर्ण

यतिविधि हरिबिजोग भएको हेटौंडा सिमेन्ट उद्योग पुनः फुलफ्लेज साथ चलाउने दाबी गर्छन् निमित्त महाप्रबन्धक नवीन कर्ण ।

गएको मंसिर पहिलो सातादेखि नै उद्योग सञ्चालन गर्ने भनिए पनि अहिलेसम्म उद्योग सञ्चालनमा आउन नसकेको उनले बताए । हाल लोडसेडिङले गर्दा पनि उद्योग सञ्चालनमा ल्याउन नसकिएको उनको दाबी छ ।

‘अहिले बिहान र बेलुका गरेर ४/४ घण्टा उद्योगमा बत्ती काटिएको छ,’ निमित्त महाप्रबन्धक कर्णले  भने, ‘बत्तीको व्यवस्था भयो भने चैतको दोस्रो सातादेखि उत्पादन सुरु गर्ने योजनामा छौं ।’

उनका अनुसार झन्डै पाँच महिनादेखि उद्योग बन्द हुनुको कारण लोडसेडिङ मात्रै होइन, उद्योग सञ्चालनमा अन्य धेरै समस्या छन् । उद्योगका उपकरणहरू पनि मर्मत भएका छैनन् । आर्थिक समस्याका कारण पनि उद्योग सञ्चालन गर्न नसकिएको हो ।

‘अहिले उत्पादन ठप्प छ, नियमित खर्च पनि उठिरहेको छैन,’ कर्णले भने, ‘तीन महिनादेखि कर्मचारीको तलबभत्ता दिन सकिएको छैन ।’

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*