हेटौंडामा शङ्खधर शाख्वा पार्क तथा पूर्वाधार निर्माणको शिलान्यास

जनपत्र
१८ फाल्गुन २०८१, आईतवार १९:४८

हेटौंडा / हेटौंडा १२ मा राष्ट्रिय विभूति शङ्खधर शाख्वाको प्रतिमा स्थापना, पार्क तथा पूर्वाधार निर्माणको शिलान्यास गरिएको छ। नेवा गुठी खल पदमपोखरीका अध्यक्ष कृष्ण नगरकोटीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री एकालाल श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा बोल्दै श्रेष्ठले शङ्खधर शाख्वाको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार पार्कलाई नेपालकै ठूलो तथा नमुना पार्कका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ। यसका लागि पर्खाल, गेट, शङ्खधर शाख्वाको प्रतिमा, पोखरी, ढुङ्गेधारा लगायतका पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। करिब चार बिगाहा क्षेत्रफलमा फैलिएको यश क्षेत्रलाई पदमपोखरीकै सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

श्रेष्ठले पदमपोखरी आसपासका विभिन्न समुदायको संस्कृति जोडेर विकास गर्न सकिने बताउँदै सरकारले मात्र नभई स्थानीयस्तरबाट पनि सचेतना आवश्यक रहेको उल्लेख गर्नुभयो। जनस्तरबाट चासो र योगदान बढे मात्रै पदमपोखरीको वास्तविक विकास सम्भव छ, उहाँले भन्नुभयो।

कार्यक्रममा स्थानीय अगुवा राजेश नगरकोटीले पार्कलाई नेपालकै नमुना बनाउने प्रतिबद्धता जनाउँदै मास्टर प्लान तयार पार्न अझै केही काम बाँकी रहेको बताउनुभयो। यो केवल सुरुवात हो, अबको दिनमा थप योजना बनाएर शङ्खधर शाख्वा पार्कलाई नेपालकै उत्कृष्ट बनाउने छौँ,उहाँले भन्नुभयो।

नेवा गुठी खल मकवानपुरका अध्यक्ष अनिल खड्गे, समाजसेवी सिताराम प्रधानलगायतले पनि कार्यक्रममा आफ्नो धारणा राख्दै पदमपोखरीको विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

पदमपोखरी क्षेत्रलाई ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्रका रूपमा विकास गर्न सकिने धारणा कार्यक्रमका वक्ताहरूले व्यक्त गरे। पदमपोखरीका विभिन्न स्थानमा थातथलो पूजा गर्दै यसको सांस्कृतिक महत्व उजागर गरिनुपर्नेमा उनीहरूको जोड थियो।

कार्यक्रममा उपस्थित स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले शङ्खधर शाख्वा पार्कको विकासका लागि निरन्तर प्रयास गर्नुपर्ने प्रतिबद्धता व्यक्त गरे। सरकारले आवश्यक बजेट तथा नीति ल्याएमा पार्क छिट्टै निर्माण सम्पन्न हुने विश्वास उनीहरूको रहेको छ।

कार्यक्रममा विभिन्न समुदायका व्यक्तिहरूको उपस्थिति रहेको थियो। बागमती प्रदेशको सस्कृती तथा पर्यटन मन्त्रालयको ७५ लाख बजेट एवम् स्थानीय श्रमदान गरी ८३ लाख ३६ हजारमा सो योजना निर्माण गर्न लागिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*