दुई वटा विधेयक बागमती प्रदेश सभामा दर्ता गरिदै, बैठक कहिले बोलाउने भन्ने अन्यौल कायमै
हेटौंडा । दुई वटा विधेयक बागमती प्रदेश सभामा दर्ता गरिदै छ । प्रदेश सरकारले प्रदेशसभा विज्नेश विहिन भइरहेको अवूस्थामा दुइ वटा विधेयक दर्ता गर्न लागेको हो । बागमती प्रदेश सभामा विधेयक अभावमा प्रदेश सभा कामविहीन भइरहेको समयमा बागमती प्रदेश सरकारले दुई वटा विधेयक प्रदेश सभामा दर्ता गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले थप दुई वटा विधेयक प्रदेश सभामा दर्ता गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन, २०७६ संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
अझै पनि बागमती प्रदेशसभाको बैठक अनिश्चित छ । सरकारले पर्याप्त विजनेस सदनलाई दिन नसक्दा प्रदेशसभाको हिउँदे अधिवेशन अनिश्चित बनेको हो । यस अधिवेशनलाई कानुन निर्माण गर्ने अधिवेशनको रुपमा चित्रण गर्ने गरिए पनि प्रदेशमा आवश्यक कानुन निर्माणमा ढिलाइ हुँदा असोज १६ गतेबाट स्थगित भएको प्रदेशसभा बैठक अब कहिले बस्ने भनेर टुंगो लाग्न नसकेको हो ।
एउटा अधिवेशन अन्त्यपश्चात् अर्को अधिवेशन ६ महिनाभित्र बोलाउनुपर्ने संवैधानिक व्यवस्था रहेपनि सरकारसँग सुविधाजनक बहुमत रहेका कारण कानुन निर्माणलाई तीब्ररुपमा अगाडि बढाउनुपर्ने देखिन्छ । कांग्रेस नेता बहादुरसिंह लामाको नेतृत्वमा वाग्मती प्रदेश सरकार गठन भएको करिब पाँच महिना नाघिसकेको छ । करिब दुई तिहाई सांसदको साथ रहेको कांग्रेस–एमाले गठबन्धनपश्चात् लामा नेतृत्वमा गठन भएको सरकारले विकास र कानुन निर्माणको काम सुस्त गतिमा अगाडि बढिरहेको छ ।
त्यसको प्रत्यक्ष प्रभाव कानुन निर्माणमा परिरहेको छ । प्रदेशले स्थापनायता हालसम्म ६३ वटा मुल कानुन निर्माण गरेको छ । प्रदेश सरकार स्थापनाकै समयमा प्रदेशलाई पूर्णरूपमा सञ्चालन गर्न करिब ९९ वटा कानुनको पहिचान गरिएको थियो । अझै करिब ३० वटा कानुन निर्माण गर्नै प्रदेशमा बाँकी रहेको छ ।