हेटौंडाको चुरियामाई सुरुङमार्ग आजबाट सञ्चालनमा, प्रदेश सरकारद्वारा उपमहानगरपालिकालाई हस्तान्तरण
हेटौंडा । हेटौंडाको चुरियामाई सुरुङमार्ग आजबाट सञ्चालनमा आएको छ । बागमती प्रदेश सरकारद्वारा हेटौंडा उपमहानगरपालिकालाई सुरुङमार्ग पर्यटकिय गन्तव्यका रुपमा सञ्चालन गर्नका लागि हस्तान्तरण गरिएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र हेटौंडा उपमहानगरपालिका बिचमा संझौतापत्रमा हस्ताक्षर गर्दै सञ्चालनमा ल्याइएको हो ।
दक्षिण एसियाकै पहिलो ‘चुरियामाई सुरुङ’ को पुर्ननिर्माण कार्य सकिएको ८ महिनापछि सोमबारबाट सर्वसाधारणका लागि खुला गरिँएको हो । हेटौँडा उपमहानगरपालिका १५ स्थित चुरियामाई मन्दिरसंगै रहेको उक्त सुरुङ मार्ग प्रदेश सरकारले जीर्णोद्धार गरी सञ्चालनका लागि सोमबार हस्तान्तरण गरिएको छ ।
सुरुङ संचालनका लागि नगरपालिकाले कार्यविधि बनाएको छ । उक्त कार्यविधिमा सुरुङ अवलोकन गर्न आउने नेपालीलाई प्रतिव्यक्ति ५० रुपैयाँ, विदेशीलाई प्रतिव्यक्ति १२० रुपैयाँ, ५ वर्षमुनिका बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकलाई निस्शुल्क, विद्यार्थीलाई २० रुपैयाँ प्रवेश शुल्क लिने व्यवस्था गरेको छ ।
वाग्मती प्रदेश सरकारको लगानीमा सुरुङको जोर्णोद्धार कार्य गत जेठमा सकिएको थियो । हस्तान्तरणको प्रक्रिया नै लम्विएकाले सर्वसाधारणलाई सुरुङ खुला गर्न सकिएको थिएन ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्केले संयुक्त रुपमा चुरीयामाइ सुरुङमार्गको उद्घाटन गर्दै सञ्चालनको लागि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेका हुन् । प्रदेश सरकारले २०७८ वैशाख १९ मा माउन्टेनइन्फ्रा कम्पनी लिमिटेड, काठमाडौँ स्युचाटारसँग सुरुङ मार्ग पुनर्निमाणको सम्झौता गरी काम सुरु गरेको थियो ।
प्रदेश सरकारले ३ करोड ६५ लाख रुपैयाँ खर्चिएर सुरुङ मार्गको जीर्णोद्धार गरेको हो । सुरुङ मार्ग २२५ मिटर लामो सुरुङको चौडाइ २।५ मिटर छ भने उचाइ ३ मिटर रहेको छ । २०८० असोज २२ मा सम्पन्न आयोजनाको निर्माण सम्पन्न भएको युक्त सुरुङ मार्ग एक वर्ष सञ्चालनमा ल्याइएको हो । सुरुङ मार्ग सञ्चालनको मोडालिटी र कार्यविधि तयार नभएकाले एक वर्षदेखि बन्द गरेर राखिएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङ, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्के, प्रदेश सभाका सदस्य भारती पाठक, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ, पूर्वमन्त्री रामेश्वर फुयाल, हेटौँडा, उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेललगायतको उपस्थिति रहेको थियो ।
चुरे पर्वत छेडेर एक शताब्दिभन्दा अगाडि निर्माण गरिएको उक्त सुरुङमार्ग नियमित मर्मत सम्भारको अभावमा सुरुङमार्गको बिच भागमा पुरिएर आरपार गर्न नसक्ने अवस्थामा थियो ।
बागमती प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडामार्फत ऐतिहासिक महत्वको चुरियामाई सुरुङमार्गको पुनर्निर्माणसँगै पर्यटकीय गन्तव्य बनाउने गरी जीर्णोद्धार गरिएको हो ।
चुरे पर्वत शृङ्खलामा कटान ९बक्स कट० गरी कालोपत्रे सडक निर्माणसँगै उक्त सुरुङमार्ग प्रयोगविहीन बनेको थियो । सो सुरुङमार्गको सुरुमा पाँच सय मिटर निर्माण गरिएकोमा हाल २२५ मिटर मात्र बाँकी छ ।
मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको चुरियामाई सुरुङमार्ग भएर विगतमा जीप, लहरीलगायतका साना सवारी आवतजावत हुने गरेको थियो ।
नेपालको पहिलो सुरुङमार्गको परिकल्पनाकार ब्रिगेडियर कर्णेल डिल्लीजङ्ग थापाको अगुवाइमा वि।सं। १९७४ सालमा निर्माण गरिएको चुरियामाई सुरुङमार्ग निर्माण सम्पन्न गर्न दुई वर्ष लागेको थियो ।

ऐतिहासिक सुरुङ खुला गर्न सकेमा अवलोकनका लागि आन्तरिक एव बाह्य पर्यटकहरु आउने चुरियामाई संरक्षण समितिका अध्यक्ष प्रेम भोम्जनले बताए । उनले भने, ‘अहिले यसो बाहिरबाट हेरेर जान्छन्, दुवैतर्फ ढोका बन्द छ ।’
तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा सन् १९१७ मा उक्त सुरुङ निर्माण गरिएको थियो । मुलुककै ऐतिहासिक सुरुङको बीच भाग भासिएर अत्यन्त जोखिम अवस्थामा रहेको थियो । करिब २२५ मिटर लामो सुरुङ मार्गलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर जीर्णोद्धार कार्य गरेको हो ।
नेपालका प्रथम ग्राजुएट इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण भएको ‘चुरियामाई सुरुङ’ मार्गको जीर्णोद्धार गरिएको वाग्मती प्रदेश यातायात पुर्वाधार निर्देशनालयका निर्देशक पुस्करराज पोखरेलले बताए । सुरुङ मार्गभित्र विद्युतीय लाइट जडान गरिएको छ । सुरुङ मार्गको दुवै प्रवेशद्वारको ढोका ८ महिनादेखि बन्द रहेका छन् ।
एक सय ७ वर्षअघि निर्माण गरिएको उक्त सुरुङको छेउमै सुरुङका डिजाईनर ईन्जिनियर थापाको अर्धकदको सालिक निर्माण गरिएको छ । इन्जिनियर थापाले अमलेखगन्जदेखि भीमफेदीसम्म सडकको पनि डिजाइन गरेका थिए ।
७०० मिटर लम्बाइ, ९ फिट चौडाइ र १० फिट उचाइ रहेको उक्त सुरुङ मार्ग मालवाहक सवारी ‘लहरी’ छिर्ने आकारमा निर्माण गरिएको थियो । एक दशकभन्दा बढी उक्त सुरुङ मार्ग हुँदै साना हलुका सवारी साधनहरू आवतजावत गरे । पथलैया–हेटौँडा सडक निर्माण भएपछि यो सुरुङ प्रयोगमा रहेन । बाराको अमलेखगन्जलाई मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीसंग जोड्ने सडक निर्माण गर्न गर्ने बेला यो सुरुङ निर्माण गरिएको थियो ।
डा टोनी हेगनले प्रकाशित गरेको ‘नेपाल’नामक पुस्तकमा चुरियाको सुरुङबारेमा पनि उल्लेख गरेका छन् । २४ अक्टोबर १९५० का दिन रक्सौल नाका हुँदै वीरगन्ज अमलेखगन्जसम्म सानो रेल, अमलेखगन्जबाट सानो जीपमा भीमफेदी आउने क्रममा हालको मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको चुरियाडाँडाको उकालो चढ्ने क्रममा देखेको मानव निर्मित सूरुङले आफू आठौँ आश्चर्यमा परेको हेगनले उल्लेख गरेका छन्।







