मकवानपुरका खेतका फाँटमा ढकमक्क तोरी, आलु लगाउने किसान कम हुँदै
हेटौंडा । केही वर्ष अगाडी सम्म मकवानपुरका धेरै खेतहरुमा किसानले आलु खेतीलाई प्राथमिकता दिने गरेका थिए । तर, अहिले भने तोरी खेती गर्ने किसानको संख्या निकै बढेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढीमा अहिलेको सिजनमा आलु खेती गर्ने किसानहरु अहिले भने तोरी खेती तर्फ आर्कसित भएका छन् ।
आलुलाई जस्तो मेहनत पनि गर्न नपर्ने र तोरी लगाएपछी पानी बेलाबेलामा लगाउने अनी भित्रयाउने गरिएको छ । अहिले मकवानपुरका धेरै किसानहरु बजारमा भारतबाट आएका थरीथ्रीका तेल भन्दा पनि आफैले उत्पादन गरेको तोरीको तेल खाने गरेको मकवानपुरगढीका किसान स्याम सापकोटा बताउँछन् ।
खुलेको निलो आकाश, फाँटभर तोरी, तोरीसँगै भुनभुन गरिरहेको माहुरीको दृश्यले सबैलाई प्रफुल्लित तुल्याएको छ। सिरसिरे हावासँगै तोरीको फूलको सुगन्धले मुग्ध बनाएको छ।
मकवानपुरको फाँटमा तोरी फुलेर खेत पहेँलपुर बनेको छ। जिल्लाको हेटौँडा, पदमपोखरी, बकैया, बागमती, मनहरी, मकवानपुरगढी लगायतका क्षेत्रका खेतमा अहिले सर्वत्र ढकमक्क तोरी फुलेको छ।
तोरी फुलेपछि खेतको दृश्य निकै मनमोहक देखिएको छ। यसैगरी, तोरीको फूलले माहुरीलाई आकर्षित गरिरहेको छ। तोरीको एउटा फूलबाट अर्को फूलमा डुल्दै माहुरीले रस चुसिरहेको दृश्यले पनि मनै लोभ्याउने गरेको छ।
माहुरीले तोरीको रस चुसेर परागसेचन प्रक्रियामा ठुलो सहयोग गर्दछन्। पछिल्लो समय विषादीको प्रयोगले गर्दा फूलमा आउने मौरीको सङ्ख्या भने घटेको देखिन्छ।