हेटौंडामा १६ वर्षदेखि अलपत्र फुटबल रंगशाला बल्ल अन्तिम चरणमा, पौडी पोखरी र क्रिकेट मैदानको काम धमाधम
हेटौंडा । १६ वर्ष अगाडि शिलान्यास गरिएको हेटौंडा उपमहानगरपालिका–६, स्थित केन्द्रीय खेलकुद प्रशिक्षण प्रतिष्ठान (गौरिटार रंगशाला)मा पूर्वाधारका संरचना निर्माण धमाधम भइरहेका छन् । फुटबल रंगशालाको काम अन्तिम चरणमा पुगेको छ ।
निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट रंगशाला, पौडी पोखरीलगायतका पूर्वाधार निर्माणको कार्यले गति लिएको प्रदेशको युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बताए । उक्त रंगशाला २५ करोड रुपैयाँ लागतमा बनेको हो । महर्जनले आज शुक्रबार निर्माणाधीन पूर्वाधारको स्थलगत निरीक्षण गर्दै प्रगति विवरणबारे जानकारी लिए ।
प्रदेश सरकारले गत आर्थिक वर्ष २०८०/०८१ देखि क्रिकेट रंगशाला निर्माणका लागि १२ करोड र स्विमिङ पुल निर्माणको लागि ९ करोड रुपैयाँ विनियोजन गरेर निर्माण थालेको थियो ।
रंगशालामा पहिलो चरणमा ६ सयभन्दा बढी दर्शक क्षमताको एउटा प्याराफिटसहित ५ वटा पिच, ७० मिटर रेडिएशनको ग्राउण्ड भीभीआइपी कक्ष, खेलाडी कक्ष, चेन्जिङ रुम, टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपाङ्गमैत्री क्षेत्र, पार्किङलगायतका संरचना निर्माण हुने परिषद्ले जनाएको छ ।
केन्द्रीय खेलकुद प्रतिष्ठानका रुपमा विकास गर्ने गरी तत्कालिन समयमा खेलकुद परिषद्ले खेलकुदका संरचना निर्माणको थालनी गरेको थियो । बजेटले निरन्तरता पाउन नसक्दा १६ वर्षसम्म यो रंगशाला निर्माणको कार्यले गति लिन सकेको थिएन । २८ जेठ ०६४ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रंगशालाको शिलान्यास गरेका थिए ।
शिलान्यास पछि संघीय सरकारले रंगशालाकलाई घेर्न कम्पाउण्ड वाल र खेलाडी छात्रछात्राबास मात्रै निर्माण गरेको थियो । उक्त भवनमा हाल खेलकुद मन्त्रालय र प्रदेश खेलकुद परिषद् बसेका छन् । प्रदेश सरकार आएपछि अलपत्र गौरिटार रंगशालाको काम अगाडि बढेको हो । अनलाइन खवरबाट ।