मुख्यमन्त्री लामालाई माओवादी केन्द्र बागमतीको संसदीय दलले बुझायो ध्यानाकर्षणपत्र

जनपत्र
२८ कार्तिक २०८१, बुधबार १९:०५

मकवानपुर / प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र वाग्मती प्रदेशको संसदीय दलका प्रतिनिधिले सरकारले जनताकेन्द्रित कार्यसम्पादन गर्नुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

बुधबार मुख्यमन्त्री कार्यलय हेटौँडामा ज्ञापनपत्र बुझाउँदै संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सरकार गठन भएको एकसय दिन पुगिसकेको भन्दै प्रदेशको समग्र विकासमा सरकार केन्द्रित हुन नसकेको आरोप लगाए । उनले सरकार संघीयताको मर्म र भावनाअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए ।

दलका नेता जम्कट्टेलले विकासको आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्दै सरकार अगाडि बढनुपर्ने उल्लेख गरे । आठ बुँदे मागसहित विभिन्न विषयमा ज्ञापनपत्र बुझाउँदै दलले विभिन्न समयमा सर्वदलीय बैठकले गरेका निर्णय अविलम्ब कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ ।

ध्यानाकर्षण पत्रमा संघीयताको संस्थागत शुद्धीकरण, सुशासन र प्रदेशको विकासमा केन्द्रित हुनुपर्ने माग राखिएको छ । गत असोज ११ र १२ गते आएको बाढीपहिरोले प्रदेशका विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भएका भन्दै पीडितका समस्यालाई तत्काल सम्बोधन गर्न माग गरिएको छ ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता  जम्कट्टेलले सरकारले जनताको आकांक्षा पूरा गर्न नसकेको बताएका छन् । दुई ठुला दलहरू सम्मिलित सरकारले नागरिकको सामान्य अपेक्षा समेत पूरा गर्न नसकेको उनले बताए ।

ज्ञापन पत्रमार्फत् गत असोज १४ मा र त्यसअघि बसेका सर्वदलीय बैठकले गरेका निर्णयहरू हुबहु कार्यान्वयन गर्नुपर्ने माग माओवादी केन्द्रले अघि सारेको छ । सङ्घीयताको संस्थागत शुद्धीकरण, सुशासन र तीव्र विकासमा केन्द्रित हुन नसकेको, प्रदेश सरकारको जिम्मेवार बन्न नसक्दा पहिलो त्रैमासिक प्रगति प्रतिवेदन सन्तोषजनक नभएको माओवादीको ज्ञापन पत्रमा उल्लेख छ ।

सरकारको कामबाट जनता चरम निराशामा रहेको, युवा शक्ति बिदेसिने दर बढिरहेको अवस्थामा सुशासनको अपेक्षा समेत गर्न सक्ने अवस्था नरहेको माओवादी केन्द्रको भनाई छ । सरकारले गत असोज ११ र १२ गते आएको बाढी पहिरोले क्षति व्यहोरेका नागरिकहरूलाई त्यसलाई सम्बोधन गर्न नसकेको माओवादी केन्द्रको निष्कर्ष रहेको छ । प्रतिपक्ष दलले उठाएका जायज सवालहरूलाई तत्कालै कार्यान्वयनमा ल्याउन माओवादी केन्द्रले सरकारसँग माग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*