मकवानपुरको थाहानगरमा आइपुगे प्रचण्ड

जनपत्र
२४ कार्तिक २०८१, शनिबार १४:०६

मकवानपुर/ पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थाहा नगर आइपुुगेका छन् । उनलाई थाहा नगरपालिकाको चित्लाङमा पार्टीका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका छन् ।

वाईसिएल नेपाल थाहानगर कमिटीको दोस्रो सम्मेलनलाई सम्बोधन थाहा नगरपालिकाको पालुङमा आउन लागेका प्रचण्डलाई पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य कुमारी मोक्रानसहितका नेता कार्यकर्ताले चित्लाङमा स्वागत गरेका हुन् । अध्यक्ष प्रचण्डलाई चित्लाङ, बज्रबाराहीलगायतका स्थानमा स्थानीयले स्वागत गरेका छन् । सडकको दाँयाँबायाँ घडाहरु राखेर स्थानीयले प्रचण्डको स्वागत गरिरहेका छन् ।

बज्रबाराहीमा खाना खाएपछि अध्यक्ष प्रचण्डले पालुङको ईन्द्रायणी चौरमा हुने वाईसिएल नेपाल थाहानगर कमिटीको दोस्रो सम्मेलनलाईसम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र थाहा नगरका अध्यक्ष विनोद लामाले जानकारी दिए । अध्यक्ष प्रचण्डले कुन्छालमा सहिद परिवारसँग भेटघाट गर्ने कार्यक्रम रहेको उनले बताए ।

अध्यक्ष प्रचण्डसँगै पार्टीका उपाध्यक्ष अग्नी सापकोटा, बाइसीएलका केन्द्रीय अध्यक्ष सुवोध शेर्पालीसहित केन्द्रीय सदस्य, बागमती प्रदेश अध्यक्षसहितको सहभागिता रहेको छ । कार्यक्रममा शहीद तथा बेपत्ता परिवार, पूर्व जनमुक्ति सेनालाई सम्मान गरिने छ ।

कार्यक्रमलाई भव्य बनाउन थाहाको गोपाली गाउँबाट इन्द्रायणी चौरसम्म विभिन्न झाँकीसहित पदैल ¥यालीको तयारी गरिएको अध्यक्ष लामाले बताए । उनका अनुसार ¥यालीमा महिला पञ्चेबाजा, तामाङहरुको झाँक्री नाँच, महिलाहरुको खैजडी, गोपालीहरुको बासुरीको धुन, नेवारहरुको धिमे बाजासहित विभिन्न झाँकीले अध्यक्ष प्रचण्डको स्वागत गर्ने तयारी भएको छ ।

अध्यक्ष प्रचण्ड थाहा नगरमै बस्ने कार्यक्रम रहेको अध्यक्ष लामाले जानकारी दिए । पालुङको सभालाई सम्बोधन पछि शनिबारको रात प्रचण्डले बज्रबाराहीको एक होटलमा बिताउने भएका छन् । उनले त्यही नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।

आइतबार पार्टीका नेता कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । पालुङमा रहेको जेसीज हलमा माओवादी केन्द्र बागमती प्रदेश समितिका अध्यक्ष सरल सहयात्रीले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*