मकवानपुरका किसानले पाल्न छोडे हल गोरु, आधुनिक हलोले जोत्छन् खेतबारी
हेटौंडा । एक दशक अगाडिसम्म मकवानपुरको हेटौंडा उपमहानगरपालिका र दश वटै स्थानीय तहका ग्रामीण क्षेत्रमा पुग्दा खेतबारी जोत्न हल गोरु नै प्रयोग गरिन्थ्यो । खेतबारी जोत्ने हली पनि प्रशस्त हुन्थे । तर हिजोआज जनशक्ति अभावमा खेतबारी बाँझोमा परिणत हुँदै गएका छन् ।
सीमित खेतबारीमा मात्रै किसानले खेती गर्ने छन् । पहिले हल गोरुको काम अहिले ठुला ट्याक्टर, मिनिटेलर (आधुनिक हलो)बाटै हुन थालेको छ । बजार क्षेत्रमा एक दशक अगाडिदेखि नै आधुनिकको प्रयोग गरेर खेतबारी खनजोत गरिए गाउँमा त्यो सुविधा थिएन ।
अहिले यो सुविधा गाउँगाउँ र टोलटोलसम्मै पुगेपछि हल गोरु पाल्न छोडिएको किसानहरु बताउँछन् । अहिले ग्रामीण क्षेत्रका किसानले अगाल्दै आएको परम्परागत खेती प्रणाली फेरिँदै गएपछि मकवानपुरका गाउँमा अचेल हल गोरु पाउन मुस्किल हुन्छ । जिल्लाको मकवानपुरगढी, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका, मनहरी गाउँपालिका धेरै परिवारले गोरु पाल्ने गरेको पाइन्थ्यो तर अहिले त्यो अवस्था छैन ।
अहिले बारी खनजोत र बाली लगाउने तथा भित्र्याउने कामका लागि अर्मपर्म गर्ने चलन पनि हटेको छ । पछिल्लो समय खनजोतका लागि मिनिटेलर हलो बढी प्रयोगमा आएपछि गोरुले दुई दिनमा सक्ने काम मिनिटेलरले दुई घण्टामै सकिदिन्छ । त्यसले गर्दा किसानको आधुनिक हलोप्रति आकर्षण बढेको मकवानपुरगढीका किसान तिर्थ थापा बताउँछन् ।
उनले भने, पाँचुसात वर्ष पहिला गाउँमा धेरै मान्छे थिए, वरपरका छरछिमेकी भएर अर्मपर्म गथ्र्यौ, गोरु नपाल्ने कोही हुन्थेन, अहिले त युवा जति विदेश गए, हामी बुढाबुढी भयौँ, गोरु पाल्न सक्ने अवस्था छैन, बजारमा गएर हलो किनेर ल्यायो, गोरुले दिन भरि लगाउने काम एकै छिनमा सकिन्छ ।
हेटौंडा–१८ हटियाका स्याम तिमल्सीनाले गोरुले खेतबारी जोत्दा समय लाग्ने भए उत्पादन राम्रो हुने तर मिनिटेलरले छिटो भए उत्पादनमा ह्रास आउने बताए । मिनिटेलरले बारी गहिरो गरी नजोत्दा मकै, धान धल्ने गरेको सुनाउँदै पहाडी क्षेत्रमा हल गोरु नै ठीक हुने उनको अनुभव छ ।
अहिले गाउँमा गोरु पाल्ने किसान निकै कम छन्, पहिले प्रत्येकको घरमा एक हल गोरु हुन्थे, अहिले मिनिटेलर हलो छ, गोरुले जोत्दा खेतीपाती सप्रिन्थ्यो, उत्पादन राम्रो हुन्थ्यो, तर अहिले धान, गहुँ, मकै कम उब्जनी हुन्छु, उनले भने, सुरुसुरुमा गाउँमा मिनिटेलर आउँदा प्रयोग गरियो, तर उत्पादन घटेपछि अहिले त ओल्लोपल्लो गाउँमा गएर भए गोरु खोजेरै जोत्ने गरेको छु ।