हेटौंडाको राप्तीटतमा छठपर्वको भब्य तयारी, बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

जनपत्र
२२ कार्तिक २०८१, बिहीबार ०७:३४

हेटौंडा । हरेक वर्षझै यस वर्ष पनि हेटौंडाको राप्तीटतमा छठपर्वको भब्य तयारी गरिएको छ । छठपर्बका लागि चारैतिरबाट सिगारिएको छ । सधैजसो सुनसान हुने हेटौंडाको राप्तीखोलाको बगर यसपटक भने निकैतामझामका साथ तयारी गरिएको छ ।

आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ ।

बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खिर षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि रहेको छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले परिवारको सुख, कल्याण र समृद्धि हुने विश्वास छ । छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउलगायतको बढी प्रयोग गरिन्छ । छठका लागि तराई, मधेश र काठमाण्डौ उपत्यकाका नदी, तलाउ र जलाशय झकिझकाउ भएका छन् ।

पछिल्लो समय यो पर्व पहाडमा पनि धुमधामका साथ मनाउन थालिएको छ । तराईरमधेसका समुदायको भनेर मानिने छठ पर्व पहाडी समुदायले पनि मनाउन थालेसँगै सह–संस्कृतिको हिस्सा बन्दै गइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*