बाढीपहिरोले थाहामा १ करोडभन्दा बढीको तरकारीबाली नष्ट
हेटौंडा । गत असोजको ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले थाहा नगरपालिकामा एक करोड रुपैयाँभन्दा बढीको तरकारीबाली नष्ट गरेको छ ।
बेमौसमी तरकारी खेतीका लागि पहिचान बनाएको थाहाकाका १ नम्बरदेखि ८ नम्बर वडासम्मका कृषकका तरकारीबाली नष्ट भएको हो ।
तरकारी खेतीमा बाढी र पहिरोले थाहाका ८ वटा वडाका ३ सय ७२ रोपनी जग्गाको तरकारीबाली नष्ट गरेको थाहा नगरपालिका कृषि शाखाका प्रमुख सन्जय तिवारीले बताए । उनका अनुसार सबैभन्दा बढी क्षति थाहा ३ नम्बर वडाका कृषकहरुको तरकारीबालीमा पुगेको छ । बाढीपहिरोले ९८ रोपनी जग्गामा लगाएको काउली, भेडे खुर्सानी र अकबरे खुर्सानी नष्ट गरेको छ,उनले भने ।
थाहा नगरपालिकाको कृषि शाखाको तथ्यांकअनुसार बाढीपहिरोले १ नम्बर वडामा ८० रोपनी,२ मा ९७ रोपनी, ३ मा ९८ रोपनी, ४ मा २४ रोपनी, ५ मा २६ रोपनी, ६ नम्बर वडामा १७ रोपनी, ७ नम्बर वडामा १० रोपनी र ८ नम्बर वडामा २१ रोपनी जग्गामा लगाएको तरकारीबाली नष्ट गरेको छ । यी ८ वटा वडाका कृषकहरुको खेतबारीमा काउली, भेडे खुर्सानी र अकवरे लगाइएको थियो ।
असोजको दोस्रो सातादेखि तरकारी बिक्री हुने अवस्थाका थिए । बाढीपहिरोबाट थाहा नगरपालिका करिब २ सय तरकारी उत्पादक कृषकहरुले क्षति ब्येहोरेका छन् । नगरपालिकामा बाढी पहिरोबाट १ करोड २ लाख मूल्यबराबर तरकारीमा क्षति पुगेको कृषि शाखाको तथ्यांकमा उल्लेख छ । स्थानीय, प्रदेश र संघीय सरकारबाट राहत पाउने आशा रहेको पीडित कृषकहरुको भनाइ छ । इकान्तिपुरबाट ।







