दशैमा पनि हेटौंडामा खसीबोका कारोबारमा छैन उत्साह
हेटौंडा । दसैँ सुरु भए पनि हेटौंडा बजारमा खसीबोकाको माग भने धेरै बढ्न सकेको छैन । विगतका वर्षको तुलनामा यस वर्ष बजारमा खसीबोकाको माग कम रहेको हेटौंडाका व्यवसायीको भनाइ छ ।
मकवानपुरका गाउँ गाउँमा र हेटौंडा बजार क्षेत्रमा पालन गरेका खसी, बोका हेटौंडा बजारको बसपार्क, चौकिटोल लगायतका क्षेत्रमा राखेर बिक्री गरिएपनि यसमा खासै उत्साहजनक रुपमा व्यापार हुन नसकेको खसी बोकाको व्यापार गर्दै आउनु भएका स्याम यादब बताउँछन् । पहिलेका चार्डपर्बका तुलनामा सोचे जस्तो किनबेच हुन नसकेको व्यवसायीको भनाइ छ । अहिले बजारमा माग कम हुँदा खसीबोकाको कारोबार बढ्न नसकेको हो ।
हेटौंडाका व्यवसायीका अनुसार खसीबोकाको मूल्य पनि गत वर्षकै हाराहारीमा छ । हेटौंडा बजारका पसलहरुमा खसीको मासु प्रतिकेजी एक हजार रुपियाँमा बिक्री भइरहेको छ । दशैका लागि हेटौंडा बजारबाट काठमाण्डौं शहरमा खसी, बोका बिक्री पनि भइरहेका छन् ।
मकवानपुरका दश वटै स्थानीय तहका किसानले दशैका लागि बिक्री गर्न राखिएका खसी, बोकाको उचित मुल्य नआएको भन्दै बिक्री गर्न पनि समस्या भइरहेको बताउँछन् । खसी, बोकाको राम्रो मुल्य नपाएको मकवानपुरगढीका किसान स्याम तिमल्सीना बताउँछन् ।







