बाढी र पहिरोले हेटौँडा र काठमाडौँ जोड्ने सबै सडक आज पनि बन्द

जनपत्र
१३ आश्विन २०८१, आईतवार ०८:०२

मकवानपुर । हेटौँडा र काठमाडौँ जोड्ने सबै सडकहरू आज पनि बन्द छन् । हिजो र अस्तीको पहिरोका कारण हेटौँडा र काठमाडौँ जोड्ने लामो तथा छोटा दुरीका सडकहरू बन्द भएका हुन् ।

बिहीबारदेखि भएको अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौँ जाने कान्ति लोकपथ, राजधानी मार्ग भीमफेदी–कुलेखानी–सिस्नेरी(दक्षिणकाली(काठमाडौँ, कुलेखानी फाखेल काठमाडौँ, कुलेखानी मातातीर्थ काठमाडौँ र त्रिभुवन राजपथ पहिरोले अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कान्ति लोकपथको ललितपुरको भट्टेडाँडा, मकवानपुरको घट्टेपाखा, आँपचौर, लाम्राङमा पहिरो खसेकाले सडक बन्द भएको छ ।

छोटो दुरीको भीमफेदी–कुलेखानी–सिस्नेरी(दक्षिणकालीकाठमाडौँ सडक खण्डको खानीखेला, सिमखोलामा बाढीले आवतजावत ठप्प भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । प्रहरीका अनुसार सिस्नेरीबाट माथिल्लो क्षेत्रमा विभिन्न स्थानमा पहिरो खेसेको छ । इन्द्रसरोवर–३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसेको छ ।

कुलेखानी फाखेल काठमाडौँ सडक खण्डको महालक्ष्मी खोलाको बाढीले सडक अवरुद्ध गरेको छ । प्रहरीका अनुसार उक्त सडक खण्डमा वर्षाका कारण स–साना पहिरोहरू खसेका छन् । कुलेखानी मातातीर्थ काठमाडौँमा पनि पहिरोले सवारी आवागमन ठप्प छ ।

छोटो दुरीको मार्गको प्रवेश मार्ग भैँसे भीमफेदी सडक खण्डमा पनि पहिरो खेसेको प्रहरीको भनाई छ । भीमफदीको धोर्सिङमा पहिरो खस्दा सडक बन्द भएको हो ।

यता त्रिभुवन राजपथको थाहा नगरपालिका–५ मा पहिरो खस्दा सडक बन्द भएको छ । दामन क्षेत्रमा पहिरो खस्दा यातायात सेवा ठप्प भएको प्रहरीको भनाई छ । वर्षा निरन्तर भइरहेकाले पहिरो पन्छाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । पहिरो पन्छाउन स्थानीय तह, सडक विभागसँग समन्वय भइरहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*