हेटौंडामा मनाइयो ९२ औं तामाङ पहिचान दिवस
हेटौंडा । तामाङ समुदायले मकवानपुरको हेटौंडामा बिहीबार ९२ औं तामाङ पहिचान दिवस मनाएका छन् । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरले आयोजना गरेको समारोहमा तामाङ भाषा, कला, संस्कृति, इतिहास, दर्शन र ज्ञानको विविध आयामहरुका पक्षमा विचार तथा विमर्शसहित विविध कार्यक्रम गरी तामाङ पहिचान दिवस मनाइएको हो ।
कार्यक्रममा बोल्दै वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले संघर्ष र लडाइँ गरेर भए पनि तामाङ समुदायलाई स्थापित हुन आग्रह गरे । तामाङ समुदायले आफ्नो पहिचान स्थापित गर्न सकेकोमा खुशी व्यक्त गर्दै मुख्यमन्त्री लामाले नीति निर्माण तहमा तामाङ समुदाय पुग्नु पर्नेमा जोड दिए ।
पहिला तामाङ समुदायले केही गर्न सक्दैन र भारी बोक्ने काममात्र गर्छ भन्ने भ्रम थियो । अब तामाङ समुदायले पढेर केही गर्छ भन्ने कुरा स्थापित भइसकेको छ, उनले भने । मुख्यमन्त्री तामाङले आफ्नो कार्यकालमा कानुन बनाउनेदेखि विकास निर्माण कार्यमा तामाङ समुदायका अगुवाहरुसँग सल्लाह र सुझाव लिनेसमेत बताए ।
तामाङ घेदुङ मवानपुरले मुख्यमन्त्री बहादुरसिंह लामा ९तामाङ०, वाग्मती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकुमाया तामाङ लगायत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, नेपाल तामाङ घेदुङ वाग्मती प्रदेशमा निर्वाचित पदाधिकारी, कलाकार र २०८०र८१ को एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीसहित २४ जनालाई कदरपत्र प्रदान गरी सम्मान गरेको थियो ।
वि.सं. १९८९ भदौ ६ गते नेपालभित्र विभिन्न नामले बोलाइने जातिलाई ‘तामाङ’ लेख्न–लेखाउन सनदपत्र जारी गरेकाले सोही दिनलाई तामाङ पहिचान दिवस रुपमा मनाउने गरिएको छ ।







