मकवानपुरमा भैँसीको आक्रमणमा बाघको मृत्यु
हेटौँडा । मकवानपुरको मनहरिमा भैँसीको आक्रमणले बाघको ज्यान गएको छ । मनहरि गाउँपालिका वडा नम्बर ६ प्रतापपुरका स्थानीय बलबहादुर राईको गोठमा भैंसीलाई आक्रमण गर्दा बाघ आफै आक्रमणमा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
राईको गोठमा भैँसी घाइते फेला परेको थियो भने बाघ मृत अवस्थामा भेटिएको थियो । बाघ बूढो भएको कारण भैंसीको आक्रमण मृत्यु भएको देखिएको प्रहरीको भनाई छ । मृत्यु भएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलिले लगेको छ ।
गोठमा बाँधेको भैंसी घाइते अवस्थामा र भैंसी नजिकै बाघ मृतावस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । डिएसपी भण्डारीका अनुसार बाघको मृत्युको कारण पत्ता लागिसकेको छैन ।
पाली सेनाका अनुसार बाघ बुढो देखिन्छ र भैंसीले हान्दा मृत्यु भएकोजस्तो देखिन्छ तर मृत्युको कारण एकिन भइसकेको छैन । घटनास्थल चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्दछ । चितवन राष्ट्रिय निकुञ्जको सेनाको टोलीले मृत बाघ लगेर गएको छ ।







