निरन्तर वर्षाका कारण मकवानपुरका ग्रामिण क्षेत्रबाट तरकारीको ढुवानी गर्न समस्या भएपछी मूल्य बृद्धी
हेटौंडा । निरन्तर वर्षाका कारण मकवानपुरका ग्रामिण क्षेत्रबाट तरकारीको ढुवानी गर्न समस्या भएपछी मूल्य बृद्धी भएको छ । मकवानपुरको मनहरी गाउँपालिकामा पर्ने हाँडीखोला, मकवानपुरगढी, थाहा नगरपालिकाको पालुङ, बकैया लगायतका क्षेत्रबाट तरकारी ढुवानीमा समस्या भएपछी हेटौंडाका उपभोक्ताहरुले महगो मुल्यमा तरकारी खरिद गर्न बाध्य भएका छन् । हेटौंडामा आइपुगेको बिभीन्न थरीका तरकारीको मुल्य तीन दिन अगाडीको तुलनामा बृद्धी भएको हेटौंडा–४ का उपभोक्ता कृष्ण तिमल्सीना बताउँछन् ।
बर्षाले मकवानपुरका ग्रामीण सडक भत्केपछि तरकारीको ढुवानी खर्च बढेको भन्दै हेटौंडाका केही व्यापारीले तरकारीको मूल्य जथाभावि बढाएका छन् । आफैँ तरकारी उत्पादन गरेर बिक्री गर्ने किसानले भने राम्रो मूल्यमा तरकारी बिक्री गर्न पाएका छन् । हरेक दिनजसो मकवानपुर उद्योग बाणिज्यसंघ अगाडी धेरैजसो किसानहरु आफैले उत्पादन गरेको तरकारी बिक्रीका लागि आउने गरेका छन् । तर, पानी परेकाले गाउँबाट तरकारी ल्याउनका लागि असहज भएको किसानहरु बताउँछन् ।
बारिमा अहिले भिन्डी, भन्टा, बोडी, करेला, लौका, फर्सी र खोर्सानी लगायतका तरकारी छन् । सामान्यता मकवानपुरमा साउन तेस्रो सातादेखि भदौभर तरकारीको मूल्य वृद्धि हुने गर्छ । तर यहाँका ग्रामीण सडक सञ्जाल नबिग्रीदा तरकारीको मूल्य खासै नबढ्ने तरकारी व्यापारीहरू बताउँछन् । अझ बिशेषगरी ग्रामिण सडकहरु बिग्रने र निरन्तर पानी परीरहेकाले टमाटरको मुल्यमा निकै उतारचढाब हुने गरेको छ ।







