बागमती सरकारको टोलीलाई प्रधानमन्त्रीले भने, ‘संघीयताको सवालमा निश्चिन्त रहनुहोस्’

जनपत्र
२३ श्रावण २०८१, बुधबार ०६:२६

मकवानपुर । बागमती प्रदेश सरकारका मन्त्रीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीलाई भेट गरेको हो ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले प्रदेशको वस्तुस्थिति, राजनीतिक अवस्था र सरकारको काम कारबाहीका विषयमा ब्रिफिङ लिएका थिए । प्रधानमन्त्री ओलीले प्रदेश सरकारले गरिरहेका योजना कार्यान्वयनमा विषयमा चासो व्यक्त गरेका थिए भने मुख्यमन्त्री लामाले उक्त विषयमा जानकारी गराएका थिए ।

एमाले र कांग्रेसका नेता तथा मन्त्रीहरूसहितको टिमसँगको भेटमा प्रधानमन्त्री ओलीले समन्वय र सहकार्यमा काम गर्न निर्देशन दिएका छन् । उनले राजनीतिक नियुक्ति, जिम्मेवारी बाँडफाँड लगायतका विषयमा छलफलका माध्यमबाट सहमति गर्न र आपसमा सौहार्द कायम गर्न निर्देशन गरेको प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री श्यामबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार सन्तुलित रूपमा राज्यका निकायको वितरण र उपभोगमा सचेत हुन प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् । आपसमा मतभेद हुने किसिमका गतिविधिमा नलाग्न उनको निर्देशन रहेको मन्त्री खड्काले बताए । विकास बजेट खर्च, योजना छनौटमा गम्भीर भएर काम गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएको मन्त्री खड्काले बताए ।

विषेश गरी २ वर्षसम्ममा सक्ने प्रकृतिको योजनाहरू कार्यान्वयनमा प्रधानमन्त्री ओलीले जोड दिएका छन् । उनले राजनीतिक सम्झौता अनुसारको सरकार निर्माणमा आफूले पाएको समय सीमा भन्दा एक साता अघि नै राजीनामा दिएर गठबन्धनमा इमानदारी रहने बताएका थिए ।

कांग्रेस बागमती प्रदेशका मुख्य सचेतक गोविन्द लम्सालले सुशासन र नागरिकहरूको अपेक्षा अनुसारको विकासमा जोड दिन प्रधानमन्त्री ओलीले निर्देशन दिएको बताए । समस्याको घडीमा संघीय सरकारले प्रदेश सरकारलाई आवश्यक सहयोग गर्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता गरेको उनले बताए ।

मुख्य सचेतक लम्सालका अनुसार प्रधानमन्त्री ओलीले काम निर्धारित समयमा नै पुरा गर्न र अधुरा कामलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएका छन् । संघीयतको सशक्त पिल्लर प्रदेश सरकार भएकाले त्यसलाई बलियो बनाउने भूमिका पनि प्रदेशको नै हुने प्रधानमन्त्री ओलीले बताएको मुख्य सचेतक लम्सालको भनाई छ । संघीय सरकारबाट प्रत्यायोजन हुने अधिकारका विषयमा कानुनी र प्रक्रियागत रूपमा प्रदेशलाई प्राप्त हुनेमा निश्चिन्त रहन प्रधानमन्त्री आलीले आश्वासन दिएको मुख्य सचेतक लम्सालले बताए । प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन र संघीयताको सवालमा निश्चिन्त रहन आग्रह गरेको मुख्य सचेतक लम्सालले बताए ।

भेटमा बागमती प्रदेशका मुख्यमन्त्री लामा सहित मुख्य सचेतक लम्साल, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्के, वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाल, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङ, स्वास्थ्य मन्त्री किरण थापा, श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन,सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछाने, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्री श्याम खड्का, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन,संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरी विना विभागीय मन्त्री मदुकुमार श्रेष्ठको उपस्थिति रहेको थियो भने आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्ले भने उपस्थित भएनन् । रातोपाटीबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*