बागमती प्रदेशको मुख्यमन्त्रीका लागि आज एमालेको समर्थनमा कांग्रेसका लामाले दावि पेस गर्दै

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका बहादुर लामाले आज दाबी पेस गर्दै छन् । आज नेपाली काङ्ग्रेसका नेता लामा र नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियासहितको संयुक्त टोली प्रदेश प्रमुखको कार्यालय गएर दावि पेस गर्न लागेका हुन् ।
हिजो नेकपा एमालेका संसदीय दलका नेता थपलिया सहितका नेताहरु काठमाण्डौं गएकाले रोकिएको दावि पेस गर्ने कार्यक्रम आज हुने भएको हो ।
बागमती प्रदेशको पाँचौं मुख्यमन्त्रीका लागि आज नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामाले दाबी पेस गर्दै छन् । हेटौंडामा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।
नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार आह्वान गरेका थिए । उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधान अनुसार बहुमतको सरकार गठनको आह्वान गरेका हुन् ।
नेकपा एमालेको समर्थनमा लामाले आज सोमबार १० बजेपछि मुख्यमन्त्रीमा दाबी पेस गर्ने कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए ।
मुख्यमन्त्री बन्न लागेका कांग्रेस संसदीय दलका नेता लामा २०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनमा नुवाकोट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
पेसाले निर्माण व्यवसायी उनी २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा विजयी भएका थिए । लामा २०५४ सालमा गाविस अध्यक्ष बनेर जनप्रतिनिधिको भूमिकामा रहेर काम गरिसकेका नेता हुन् ।
१३ पुस ०७९ मा भएको नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतामा लामा विजयी भएसँगै मुख्यमन्त्री हुने ढोका खुलेको थियो । दलको नेता छान्न भएको निर्वाचनमा उनले इन्द्रबहादुर बानियाँलाई पराजित गरेका थिए । लामाले २१ मत पाए भने बानियाँले १६ मत मात्र पाए ।