बजेटमा सुरुङका दर्जन परियोजना, बानेश्वर अन्डरपासदेखि जुम्लासम्म
काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारले सुरुङका एक दर्जन परियोजनामा काम गर्ने योजना बनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार यसमध्ये कतिपय आयोजनाको काम प्रारम्भ भई अन्तिम चरणमा पुगेको छ भने कतिपय आयोजनामा सम्भाव्यता अध्ययनदेखि पूर्वतयारीको काम मात्र गर्ने योजना छ ।
सोहीकारण चालु आर्थिक वर्ष २०८०/८१ को तुलनामा आगामी आवमा सरकारले सुरुङको बजेट समेत घटाएको छ । मन्त्रालयका अनुसार आगामी वर्ष सुरुङका १४ योजना बजेटमा समेटिएका छन् । जसका लागि मात्र ८१ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो रकम चालु आवमा विनियोजन भएको रकमको तुलनामा आधा भन्दा कम हो ।
चालु आवमा सुरुङतर्फ २३ परियोजनामा १ अर्ब ९४ करोड रकम विनियोजन भएको छ । मन्त्रालयका अनुसार विगतमा सम्भाव्यता अध्ययन तथा पूर्वतयारीका लागि बजेट राखिएका आयोजनाहरू निर्माण गर्न स्रोत सुनिश्चितता नभइसकेका कारण त्यस्ता आयोजना बजेटमा समावेश गरिएको छैन । सोहीकारण आगामी वर्ष सुरुङ आयोजनाहरुको संख्या नै कम देखिएको छ । यसरी बजेटमा समावेश हुन नसकेका सुरुङ आयोजनामा टोखा छहरे सुरुङमार्ग, प्रवास–जोर्ते, बागलुङ–ब्यु–नरेठाँटी सुरुङमार्ग लगायत छन् ।
बजेटमा सुरुङ आयोजनातर्फ नयाँ बानेश्वरमा अन्डरपास बनाउने योजना समेटिएको छ । यो योजना चालु आवको बजेटमा समेत समेटिएको थियो । यस आयोजनालाई चालु आवमा १० लाख र आगामी आवमा ९ लाख रुपैयाँ विनियोजन गरिएको छ । जुन पूर्वतयारीको काममा मात्र सीमित हुने छ ।
ग्वार्को–सातदोबाटो–एकान्तकुना फ्लाइओभर निर्माण धमाधम भइरहेको छ । यस आयोजनालाई चालु आवमा १२ करोड रुपैयाँ विनियोजन गरिएकोमा आगामी आवमा ८ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ । यो आयोजना चालु आव भित्रै सक्ने योजना रहेपनि सक्ने गरी काम भने हुन सकेको छैन । यो आयोजनाको कुल लागत १७ करोड ६ लाख अनुमान गरिएको छ ।
सिद्धबाबामा धमाधम काम
ठेक्का लागेको लामो समयपछि काम सुरु भएपनि अहिले सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबामा सुरुङ निर्माणको कामले भने गति लिएको छ । यो आयोजनामा सर्वाधिक बजेट विनियोजन भएको छ । आगामी आवमा सिद्धबाबामा मात्र ६५ करोड ८१ लाख रुपैयाँ विनियोजन गरिएको छ । चालु आवमा यस सुरुङलाई ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
पछिल्लो अपडेट अनुसार सिद्धबाबा सुरुङ १ सय ६६ मिटर खनिसकिएको छ । यो सुरुङको लम्बाइ १ हजार १३६ मिटर रहेको छ । यहाँ उत्तरतर्फबाट ७६.१२ र दक्षिण तर्फबाट ९०.१६ मिटर खनिएको छ । यससँगै सुरुङको भौतिक प्रगति १२.६३ प्रतिशत पुगेको छ । आयोजनाको वित्तीय प्रगति भने १७.५ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।
सम्भाव्यता अध्ययनको काम सम्पन्न भइसकेका मध्ये धरान–लेउती सुरुङ मार्गले आगामी आवमा ५० लाख रुपैयाँ बजेट पाएको छ । यस आवमा समेत ५० लाख रुपैयाँ मात्र पाएको यो सुरुङको काम आगामी वर्ष पनि औपचारिकतामा मात्र सीमित हुने देखिन्छ । यो सुरुङको लागत १० अर्ब भन्दा बढी हुने अनुमान सम्भाव्यता अध्ययनले देखाएको थियो । करीव ४ किलोमिटर लम्बाईको यो सुरुङलाई सरकारले अझै प्राथमिकता दिन सकेको छैन ।
अध्ययनको चरणमा कुन कुन सुरुङ ?
सरकारले देशका विभिन्न सडक खण्डमा सुरुङ मार्ग बनाउने गरी अध्ययन गर्दैछ । यसमध्ये आगामी आवमा दुम्कीबास–बर्दघाट सुरुङ समेत समेटिएको छ । यस आयोजनालाई आगामी वर्ष २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । चालु आवको बजेटमा समेत राखिएको यस आयोजनालाई १ करोड रुपैयाँ राखिएको थियो ।
हेम्जा–नयाँपुल खण्ड सडक खण्ड सुरुङ मार्गका लागि समेत आगामी आवमा २५ लाख विनियोजन गरिएको छ । यो सुरुङमा यस वर्ष १ करोड विनियोजन गरिएको छ । मझिमटार–शक्तिखोर सुरुङमार्ग समेत आगामी बजेटमा अटाएको छ । यस आयोजनाले १२ लाख रुपैयाँ बजेट पाएको छ । चालु आवमा यस सुरुङमा ४५ लाख रुपैयाँ विनियोजन गरेको छ ।







