‘म्याजिक’ र ‘लजिक’ दुवै गुमाएका कामचलाउ प्रधानमन्त्री
काठमाडौं । पाँच दिनअघिसम्म प्रधानमन्त्री प्रचण्ड आफूसँग ३२ सिटको म्याजिक नम्बर रहेकाले पाँचै वर्ष सरकार चलाउने दाबी गर्दै थिए ।
संसदका दुई ठूला दल कांग्रेस र एमालेले नयाँ सरकार बनाउने सहमति गरिसकेका कारण प्रधानमन्त्री प्रचण्ड राजनीतिक रुपमा कामचलाउ प्रधानमन्त्री भइसकेका छन् । अब उनले आफूसँग रहेको भनिएको म्याजिक नम्बर खोटो सिक्कामा परिणत भइसकेको छ, जसको कुनै उपादेयता बाँकी छैन ।
यस्तो अवस्थामा प्रचण्ड आफ्नो प्रधानमन्त्रीकाल एक महिना अरु लम्ब्याउन चाहन्छन् । जबकि उनले संसदमा एक महिना लिन सक्ने भनिएको समय केवल प्राविधिक बन्दोबस्त हो ।
रास्वपाको २१ सिटमा माओवादी केन्द्रको ३२ सिट, अर्थात् कुल २७५ को प्रतिनिधिसभामा ५३ सिटको संख्या अब कुनै ‘म्याजिक नम्बर’ रहेन जसको परीक्षण संसदमा गर्न सकियोस् ।
प्रधानमन्त्रीलाई संसदका दुई ठूला दलले राजीनामा दिन भनिसकेका हुन् । पछिल्ला चुनावमा झन्झन् जनसमर्थन गुमाउँदै गठबन्धनको सहारामा अस्तित्व रक्षा गरिरहेको माओवादी केन्द्रले तत्कालै सरकार नछाड्ने जिद्दी लिएको छ ।







