संसदमा गोकुल बास्कोटाको प्रश्न : किसानले दूधको पैसा पाउन सडकमा गाईबस्तु छाड्नुपर्ने हो ?

जनपत्र
१४ असार २०८१, बिहीबार १५:२७

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले वर्षौंदेखि किसानलाई दूधको पैसा नदिएर ज्यादती गरेको बताएका छन् ।

किसानले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी दुग्ध उद्योगलाई दूध बेचेको करिब ५ अर्ब रुपैयाँ पाउन बाँकी रहेको भन्दै उनले पैसा पाउन के गर्नुपर्ने हो भन्ने प्रश्न गरेका छन् ।

‘किसानले के गर्ने फा्रन्समा जस्तो ट्याक्टरहरु लगेर सडकमा राख्नुपर्ने हो कि गाईबस्तु लेराएर सडकमा छोड्नुपर्ने हो कि, के गर्‍यो भने न्याय पाउँछन् ?’ उनले प्रश्न गरे ।

किसानहरुले भिख मागेको नभई पसिनाको मूल्य खोजेको भन्दै सांसद बास्कोटाले थपे, ‘यो समस्या जति तन्काउँछौं सरकारको लोकप्रियता मात्र होइन क्षमता र जवाफदेहीतामा पनि प्रश्न उठ्दै जान्छ ।’

सरकार र मन्त्री पटक पटक फेरिँदा पनि किसानको समस्या ज्यूँका त्यूँ रहेको भन्दै उनले किसानलाई रुवाएर सरकार हाँसेर बस्ने हो भन्ने प्रश्न गरेका छन् । ‘जनताको सरकार होइन, जनताप्रति जवाफ दिनुपर्छ कि पर्दैन ?’ उनले सोधेका छन् ।

एउटै वडामा दूधबापत किसानले ६ करोड रुपैयाँ भन्दा बढी लिन बाँकी रहेको भन्दै सांसद बास्कोटाले प्रधानमन्त्री, अर्थमन्त्री र कृषिमन्त्रीसँग जवाफ मागेका छन् । ‘यसमा सरकारको दृष्टिकोण के हो प्रधानमन्त्रीको कुरा के हो अर्थमन्त्रीको कुरा के हो कृषिमन्त्रीको कुरा हो ?’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*