कस्तो छ ६ वटा महानगरपालिकाको बजेट ?

जनपत्र
१२ असार २०८१, मंगलवार ०९:२३

काठमाण्डौ – कानुन अनुसार असारको १० गते बजेट पेश गर्नुपर्ने भएकाले हिजो धेरैजसो पालिकाले बजेट ल्याएका छन् । कतिले सभामा पेश गरे, कतिले पेश गरेनन् भनेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तथ्याङ्क सङ्कलन गर्दैछ । छ वटै महानगरपालिका काठमाण्डौ, ललितपुर, विराटनगर, वीरगन्ज, भरतपुर र पोखरासहित सात सयभन्दा धेरै पालिकाले हिजो आउँदो आर्थिक वर्ष ०८१/०८२ को बजेट विनियोजन गरेका छन् ।

पाँच महानगरले चालू आर्थिक वर्षको तुलनामा बजेटको आकार केही बढाएका छन् भने वीरगन्जले घटाएको छ । अन्तरसरकारी वित्तीय व्यवस्थापन ऐन–२०७४ मा पालिकाले असार १० भित्र आउँदो आर्थिक वर्षको आम्दानी र खर्चको अनुमानित विवरण गाउँ/नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।

काठमाण्डौ महानगरले ल्यायो २५ अर्ब ७० करोडको बजेट 

काठमाण्डौ महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उपमेयर सुनिता डङ्गोलले १५औँ नगरसभाको बैठकमा आउँदो वर्षको वार्षिक बजेट पेश गर्नुभयो । महानगरले पूर्वाधार विकास क्षेत्रका लागि सबैभन्दा धेरै १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । जुन कुल बजेटको ६१ दशमलब २० प्रतिशत हो ।

कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि तीन अर्ब ४९ करोड ४५ लाख २९ हजार र सामाजिक विकास क्षेत्रका लागि तीन अर्ब ८१ करोड ३६ लाख १५ हजार रुपैयाँको बजेट प्रस्ताव गरिएको छ ।  सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि एक अर्ब ८९ करोड २१ लाख र स्थानीय सञ्चित कोषबाट खर्च हुने गरी रकममध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमका लागि १९ करोड नौ लाख रुपयाँ प्रस्ताव गरिएको छ ।

महानगर गौरव र स्वर्णिम योजनाका लागि पाँच अर्ब ८० करोड रुपैयाँ बजेट गरिएको छ । उपमेयर डङ्गोलले विगतका कार्यक्रमलाई निरन्तरता तथा थप एक गरी ११ वटा गौरवको आयोजनाका लागि तीन अर्ब ८० कारोड बजेट रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो । त्यस्तैगरी कपडा बैङ्क, पोखरी मर्मत तथा सम्भार, फोहरबाट मल र महानगर होमस्टेलाई थप गरी ३० वटा स्वर्णिम योजना प्रस्ताव गरिएको छ । त्यसका लागि दुई अर्बको बजेट प्रस्ताव गरिएको छ ।

ललितपुर महानगरको बजेट सात अर्ब ४६ करोड

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि सात अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँको बजेट नगरसभामा पेस गरेको छ । महानगरको पाँचौँ नगरसभाको तेस्रो बैठकमा उपमेयर मञ्जली शाक्य बज्राचार्यले गएको असार ५ गते प्रस्तुत नीति तथा कार्यक्रममा आधारित गरेर बजेट प्रस्तुत गर्नुभएको हो । ‘स्रोतको व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट एक अर्ब ३२ करोड ८० लाख र बागमती प्रदेश सरकारबाट २२ करोड ९२ लाख ९२ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । आन्तरिक स्रोतबाट तीन अर्ब ५५ करोड ९६ लाख रुपैयाँ सङ्कलन हुने अनुमान गरिएको छ’, प्रस्तुत वार्षिक बजेटमा उल्लेख छ । महानगरले चालु आर्थिक वर्षका लागि छ अर्ब ५० करोड पाँच लाख ८८ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*