हेटौंडा सिमेन्ट उद्योग सञ्चालन गर्न पुरानो मेसिनबाट संभव छैन– महेश बतौंला
हेटौंडा । मकवानपुर क्षेत्र नबर–२ का सांसद तथा एममालेका प्रममुख सचेतक महेश कुमार बतौलाले हेटौंडा सिमेन्ट उद्योग सञ्चालन गर्न पुरानो मेसिनबाट संभव नभएको बताउनु भएको छ ।
आज उद्योगको निरिक्षणका लागि पुग्नु भएका बर्तौलाले पुरानो मेसिन हटाएर नयाँ मेसिन सञ्चालन गरेपछी मात्र उद्योग सञ्चालन गर्नका लागि संभब हुने बताउनुभयो । अब अर्को नयाँ मेसिन खरिद गर्नका लागि उद्योग मन्त्रालयबाट अर्थ मन्त्रालय सम्म फाइल पुगेको र त्यसबाट ऋण दिन सक्ने भएमा मात्र यसको संभब हुने बताउनुभयो ।
जिल्लाका सबै राजनीतिक दलका नेतृत्वले उद्योग सञ्चालनका लागि एक भएर प्रयास गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले उद्योग तथा उत्पादन क्षेत्रमा राजनीति गर्न नहुने पनि स्पष्ट पार्नुभएको छ ।
बिहिबार हेटौँडा सिमेन्ट उद्योगका नवनियुक्त अध्यक्ष नरेन्द्र भण्डारीको निमन्त्रणामा उद्योग परिसर पुगेर प्रमुख सचेतक बर्तौलाले हेटौँडा सिमेन्ट उद्योग संचालनका लागि राज्यले अभिभावकत्व लिएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले तत्कालका लागि उद्योग संचालन गर्न केही रकम राज्यका तर्फबाट लगानी गर्नुपर्ने बताउनुभएको छ ।
‘राजनीतिक दलहरु हेटौँडा सिमेन्ट उद्योग संचालनको मुद्दामा एकतावद्ध हुनुपर्छ । उत्पादन र उद्योग संचालनमा राजनीति गर्न हुन्न । उद्योग संचालनका लागि सबैको साझा प्रयत्न जरुरी छ । उपलब्धी हुनेगरी उद्योगको विकास र संरक्षणमा काम गर्नुपर्छ ।’ उहाँले भन्नुभयो । बर्तौलाले हेटौँडा सिमेन्ट उद्योग संचालनका लागि पहल गर्ने पनि बताउनुभयो । उद्योगमा थप आर्थिक लगानी गर्नुपर्ने परिस्थिति रहेकाले सरकारले त्यसतर्फ ध्यान दिन जरुरी रहेको र उद्योगलाई निरन्तरता संचालन हुने वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उद्योगको दीर्घकालीन संचालनका लागि नयाँ मोडलमा अघि बढ्नु पर्ने उहाँको धारणा थियो । उद्योग संचालनको मोडल तयार पार्नेगरी प्रयत्न भइरहेको र उद्योगमा नयाँ प्रविधि जडान गरी संचालनका लागि लगानीसहितको प्रस्ताव अर्थ मन्त्रालयमा स्वीकृतिको चरणमा रहेको उहाँले बताउनुभयो । अर्थ मन्त्रालयसँग १ अर्ब १२ करोड रुपैयाँ माग गरी दीर्घकालीन सोँचसहित योजना बनाइएको उहाँले जानकारी दिनुभयो । नवनियुक्त अध्यक्ष नरेन्द्र भण्डारीले उद्योगलाई व्यवस्थितरुपमा सञ्चालन गर्न आफूले आवश्यक समन्वय र सहकार्य गर्ने स्पष्ट पार्नुभएको छ ।







