कीर्तिमानी १००औं खेल खेल्दै कप्तान किरण

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बु (चेम्जोङ) ऐतिहासिक कीर्तिमान नजिक छन् । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज यमनविरुद्धको खेल खेल्दै किरण नेपालका लागि एक सयौँ खेल खेल्ने कीर्तिमान नजिक छन् ।
डेढ दशकभन्दा लामो अन्तर्राष्ट्रिय फुटबल करियरमा किरणले हाल नेपालका लागि सर्वाधिक ९९ क्याप जितेका छन् । उनी अहिले नेपालको कप्तान र गोलकिपर दुवै भूमिका छन् । ३४ वर्षीय किरण वर्तमान नेपाली फुटबल टोलीको सबैभन्दा अनुभवी खेलाडी समेत हुन् ।
नेपाली टोलीको साउदी अरेबिया भ्रमणदेखि नै किरणले एक सय खेल पूरा गर्ने विषयमा चर्चा हुँदै आएको थियो । अब उनी त्यो दुर्लभ कीर्तिमानको निकै नजिक छन् । कुनै आश्चर्य नभएमा किरण नेपालका लागि १०० खेल खेल्ने पहिलो फुटबलर बन्नेछन् ।
धनकुटाको एउटा सामान्य परिवारबाट उमेर समूह र सिनियर राष्ट्रिय टिम हुँदै नेपालको नम्बर वान गोलकिपर अनि हाल कप्तानीसमेत गरिरहेको किरण आफ्नो कीर्तिमानभन्दा पनि देशका लागि खेल्नु पाउनु सबैभन्दा गर्वको क्षण मान्छन् ।
‘देशको जर्सी लगाउँदा खुशी लाग्छ र देशको जर्सी लगाउनु प्राउड मोमेन्ट हो’, किरणले यमनसँग खेल्नुअघि साउदीमा पत्रकारहरुसँग भनेका थिए, ‘विदेशी भूमि वा घरेलु मैदानमा खेल्दा मलाई जहिले पनि गुजबम्प आउँछ । म देशको लागि खेल्दैछु फाइट गर्नुपर्छ भन्ने भावना आउँछ । कप्तान मात्र नभएर देशकै प्रतिनिधधित्व गर्दा छुट्टै महसुस हुन्छ ।’
किरणले अब कति वर्ष खेल्छु भनेर नसोचेको र स्वास्थयले साथ दिएसम्म खेल्ने बताएका छन् । ‘त्यस्तो कुनै क्याल्कुसेन मैले गरेको छैन । सबै कुरा हेल्थ हो । मरो हेल्थ राम्रो भएन भने मैले प्रेडिक्ट गरेर भनेर पनि हुँदैन । हेरम कति खेल्न सकिन्छ देशका लागि । र एउटा समय त आइहाल्छ’, उनले भनेका छन् ।