एमाले मकवानपुरको नव निर्वाचित कमिटीद्वारा सपथग्रहण

जनपत्र
२८ जेष्ठ २०८१, सोमबार १५:१३

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको नव निर्वाचित कमिटीले आज सपथग्रहण गरेको छ । एमाले मकवानपुरको १२ औं अधिवेशनबाट निर्वाचित कमिटीले आज सपथग्रहण गरेको हो । नव निर्वाचित कमिटीलाई सफथग्रहण गराउने कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेल प्रमुख अतिथी हुनुहुन्थ्यो ।

वरिष्ठ उपाध्यक्ष  पोखरेलले राष्ट्रको भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता र सामाजिक सदभावलाई जोगाइराख्न राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभएको छ ।

एमाले मकवानपुरको १२ औँ अधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारीलाई आज हेटौँडामा पद तथा गोपनीयताको शपथ गराउनुहुँदै उहाँले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका पक्षमा आफ्नो पार्टी अडिग रहने बताउनुभयो । “राष्ट्रको भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता र सामाजिक सदभावलाई जोगाइराख्न राजनीतिक स्थिरता आवश्यक छ । त्यसका लागि सबै दल एक ठाउँमा उभिन जरुरी छ”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नभयो, “एमाले सधैँ राष्ट्रिय स्वाभिमानका पक्षमा दृढतापूर्वक उभिरहेको छ । हामी राष्ट्रको भौगोलिक अखण्डताको रक्षा गर्न सधैँ दृढ रहने छौँ ।”

उहाँले पार्टीका नेता, कार्यकर्ता तथा पार्टी निकट भातृ सङ्गठन तथा शुभेच्छुक सबैलाई एकजुट भएर अगाडि बढ्न आग्रह गर्नुभयो । एमाले मकवानपुरको यही जेठ १८, १९ र २० गते हेटौँडामा १२औँ अधिवेशन सम्पन्न भएको थियो ।

१२ औं अधिवेशनबाट निर्वाचित अध्यक्ष श्रीधर पोख्रेल, उपाध्यक्ष हिदम लामा, सचिब सिता विष्ट, उपसचिब फुर्वा दोर्जे लामा, आरती पाठक लगायत सबै सदस्यहरुलाई आज सपथग्रहण गराइएको हो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय नेताहरु मुकुन्द न्यौपाने, केदार न्यौपाने, देवि ज्ञवाली, डोरमणि पौडेल, रामेश्वर राना लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*