हेटौंडा–११ का ३ हजार परिवारलाई पानी खुवाउन बृहत योजना

जनपत्र
२२ जेष्ठ २०८१, मंगलवार १०:३८

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभर्याङ र सिमलटारका वासिन्दाहरुलाई पानी खुवाउनका लागि बृहत खानेपानी योजना सुरु गरिएको छ । यस क्षेत्रका करिब ३ हजार परिवारलाई पानी खुवाउनका लागि समवेल निर्माण देखिबाट पानी टंकी निर्माण गर्ने सम्मको काम सुरु गरिएको हो ।

यस क्षेत्रमा पानी खुवाउनका लागि बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय अन्तरगतको खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौंडाको कार्यालयको २ करोड ५० लाख, हेटौंडा खानेपानी व्यावस्थापन बोर्डको १ करोड १२ लाख र हेटौंडा उपमहानगरपालिकाको १ करोड रुपैयाँ लगानीमा खानेपानीका योजना निर्माण गर्न सुरु गरिएको हो ।

सिमल्टार थानाभरयाङ खानेपानी योजना निर्माणको काम अन्तरगत २ वटा समवेल निर्माणको काम सकिने चरणमा पुगेको छ । त्यसैगरी थानाभरयाङमा पानी टंकी निर्माणको काम पनि सुरु भएको छ । ४ लाख ५० हजार लिटर क्षमताको पानी टंकी निर्माणको बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठले सिलान्यास गर्नुभयो ।

कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यो प्रदेश सरकारको ठुलो योजना मध्यको एक रहेको बताउनुभयो । स्थानीय सरकार र जनतासंगको सहलगानीमा खानेपानीका योजना निर्माण गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । जनताको पहिलो खावस्यक्ता खानेपानी रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, उपमेयर राजेश बानियाँ, हेटौंडा ११ का वडा अध्यक्ष जुना दाहाल, खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौंडा कार्यालयका प्रमुख हरिराम पौडेल, हेटौंडा खानेपानी व्यावस्थापन बोर्डका अध्यक्ष प्रताप विष्ठ लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*