‘पलुटेड पोलिटिक्सले हैरानै पार्यो नेपालीलाई’
शहरका फिक्सन-डिजाइनर कुमार नगरकोटीले ग्राफिक्स उपन्यास ‘जे थर्टी थ्री’ पछि अहिले फिल्म स्क्रिप्ट लेखेर सिध्याएका छन् । कुनै बेला आफ्नै नाटक ‘बाथटब’मा निःशब्द शमशेर राणाको भूमिका लेखेर ३२ वर्षपछि नीर शाहलाई स्टेजमा उतारेका नगरकोटीले यो स्क्रिप्ट तिनै नीर शाहका लागि लेखेका हुन् । बेग्लै हुलिया, विश्व साहित्य र ‘वर्ल्ड सिनेमा’का अतिरिक्त आसक्ति र सरर्रियल लेखनले परिचित नगरकोटीले अनलाइनखबरसँग दिलै खोलेर गरेको कुराकानी :
हिजोआज
१. हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
नयाँ फिल्मको स्क्रिप्ट सकियो । यसको निर्देशन नीर शाहले गर्दै हुनुहुन्छ । पछिल्लो काम भनेको यही हो ।
२. पछिल्लो पटक के कुराले वा कुन समाचारले खुशी हुनुभयो ?
खुशीचाहिं दुइटा चिजले बनायो । यो मेरो मात्र नभएर हामी नेपालीको सामूहिक खुशीको कुरा हो– एउटा क्रिकेट अर्को सिनेमा । मीन भामले निर्देशन गरेको ‘साम्बाला’ जसरी बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा पुग्नुले हामीहरूका लागि ठूलो अर्थ राख्छ जस्तो लाग्छ । त्यस्तै टी–ट्वान्टी क्रिकेट विश्वकपमा भएको नेपालको छनोट । हामीलाई संसारमा चिनाउने एउटा सिनेमा र अर्को क्रिकेट रहेछ । यो एकदमै ब्युटिफुल चिज हो । साहित्य मार्फत पुग्न हामीलाई अझै वर्षौं लाग्छ ।
३. के कुराले दिक्क बनायो ?
दिक्क त सदाबहार छ– राजनीति । नेपालीहरूलाई कहिल्यै नछोड्ने । पोलुटेड पोलिटिक्सले हैरान पार्ने भयो पूरै नेपालीलाई ।
४. अबका योजना के छन् ?
योजना खासै केही हुँदैन मेरो । कहिल्यै योजना बनाएर हिंडिएन । जे आइलाग्छ, त्यही टर्छ टाइपको भयो । अहिले पनि यो गर्छु, त्यो गर्छु भन्ने छैन ।
५. आजका मितिमा तपाईंको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा के हो ?
मेरो लागि महत्वपूर्ण क्रियटिभिटी नै हो । सिर्जनशील हुनु नै महत्वपूर्ण कुरा हो । इम्याजिनेटिभ हुनु । अध्ययनशील हुनु नै सबभन्दा ठूलो कुरा हो ।
६. अचेल सबभन्दा रोचक लागेको विषय वा व्यक्ति ?
रुचि त यति व्यापक छ कि भनिसाध्य भएन । ह्यान्डल गर्नै गाह्रो पर्ने कुरा छ । अनेक विषयमा रुचि छ ।
७. नेपाली समाजको सबभन्दा राम्रो र नराम्रो पक्ष के लाग्छ ?
नेपाली समाजको फरासिलोपना राम्रो छ । हाम्रो समाज खुला हृदयको छ । एकदम रिजिड छैन । अर्को एउटा छ, स्मृति क्षीण छ । यो राम्रो पनि हो, नराम्रो पनि हो । बिर्सिइहाल्ने । राम्रो कुरा पनि बिर्सिइदिने, नराम्रो पनि बिर्सिदिने । कसैका गुण र अवगुण दुवै बिर्सिने तरलता छ हाम्रो समाजमा ।
८. पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ? तपाईंलाई हाम्रो पत्रकारिता कस्तो लाग्छ ?
पत्रकारिता त सिफ्ट भएर डिजिटलतिरै गए जस्तो लाग्छ । यो ब्युटिफुल चिज पनि हो, यसले कन्टेम्पोररी बनाउँछ । सबभन्दा महत्वपूर्ण चाहिं तपाईं कत्तिको समकालीन हुनुहुन्छ भन्ने हो । पत्रिकासँग मेरो अहिले पनि प्रेम छ । म न्यूयोर्क टाइम्स पढ्छु । कफी खाँदै पल्टाउनका लागि म न्यूयोर्क टाइम्स पढ्छु । समाचारका लागि अनलाइन–डिजिटलमै जान्छु ।







